काठमाडौं । मानवसेवा आश्रमको रानीवन सेवाकेन्द्रमा काठमाडौं मोडेल कलेज (केएमसी) ललितपुर क्याटलिस्ट कमिटी सोसल सर्भिसद्वारा बिहीबार श्रमदान गरिएको छ । केएमसी ललितपुरका नेपाली विषयका अध्यापक नारायण निरासीको संयोजकत्वमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई श्रमदान कार्यक्रममा सहभागी गराइएको थियो ।
उहाँहरूले आश्रममा बिहान ७ बजेदेखि १२ बजेसम्म कोठा सफा गर्ने, ओछ्यान मिलाउने, शौचालय सरसफाइ गर्ने, आश्रममा आश्रित आमाबुबाहरूका हात गोडाका नङ काट्ने, कपाल कोरिदिने, लुगा फेरिदिने जस्ता कार्य गर्नु भएको हो । उक्त कार्यक्रममा सोसल सर्भिस क्लबकी अध्यक्ष जैजली शर्मा, सचिव मपड्क भट्ट, सदस्यहरू आर्यन थापा, अन्वेषा गौतम, सुप्रिया झा, गुन्जन रिमाल, सुदीप बोगटी लगायत १२ जना भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए । विद्यार्थीहरूले मानव हितका पक्षमा कार्य गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भएको कुरा बताउनु भयो । कार्यक्रम पश्चात् उहाँहरूलाई सेवाकेन्द्रले मानवसेवा आश्रमको बारेमा जानकारी गराउने कार्य भएको छ । मुलुकमा मानवता प्रवर्द्धनका लागि मानव सेवाले गर्दै आएका विविध गतिविधिका श्रव्यदृश्यहरु देखाइएको थियो ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो । यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।