मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित गैरनाफामुलक संस्था हाे । मानवसेवा आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणाको लागि पहल गर्ने र घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित मानवसेवा आश्रम हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
‘मानवीयताको कुनै सिमाना हुँदैन’ यस तथ्यलाई चरितार्थ गर्दै संस्थाको अभियानलाई राष्ट्रभित्र मात्र सीमित नगरी मानवता प्रवर्द्धनका विविध कार्यक्रमहरू लिएर मानवसेवा आश्रम अन्तर्राष्ट्रिय जगतमा समेत अब्बल समाजिक संस्थाको रूपमा परिचित छ । कतारमा बसोबास गर्नुहुने नेपालीहरूसँग जन सम्पर्क स्थापनाको लागि कतार च्याप्टर र बेलायतका लागि यू.के. च्याप्टर दर्ता गरी सत्कर्मको सुवास विश्वमाझ फैलाएको छ । अस्ट्रेलिया, यू.के, कतार देशहरूमा समेत सफलतापूर्वक अभियानका कार्यक्रमहरू सञ्चालन गरिसकेको मानवसेवा आश्रमले मानवता प्रवर्द्धनका विविध आयामहरूलाई समेट्दै अन्ततोगत्वा मानवीयताको राष्ट्र (The Country of Humanity Nepal) निर्माण गर्ने विराट सपना राखी सेवामा समर्पित भएको छ ।