काठमाडौँ - सुख्खायामसँगै पछिल्लो समय लामो सयमसम्म खोकी लाग्ने समस्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लामो समयसम्म रुघाखोकी लागेका बिरामी आउने सङ्ख्या बढ्दै गएको छ ।
अस्पतालमा सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले अस्पतालमा एकिन तथ्याङ्क नभए पनि लामो समयसम्म खोकी लागेर अस्पताल आउने सङ्ख्या बढ्दो रहेको बताएका छन् । खोकी लामो समयसम्म लाग्दा निमोनिया हुने जोखिम बढ्ने हुँदा सचेत रहन डा.पुनले आग्रह गर्नुभएकाे छ । पछिल्लो समय अस्पतालमा आउने अधिकांश बिरामी लामो समयसम्म खोकी लागेर, खान मन नलाग्ने, ज्वरो आउने जस्ता लक्षण लिएर अस्पतालमा आउने गरेको डा.पुनको भनाइ छ । परीक्षण नभए पनि हङकङ फ्लु र प्रदूषणको कारणले रुघाखोकीको समस्या बढ्दै गएको डा.पुनकाे भनाइ छ ।
के हो हङकङ फ्लु ?
डा.पुनका अनुसार मौसमी फ्लुले (इन्फ्लुएन्जा) वर्षमा दुई पटक बढी दुःख दिने गर्छ । मौसमी फ्लु भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । यसमा ‘ए’ र ‘बी’ नेपालमा बेलाबेलामा स्वास्थ्य समस्या निम्त्याउने गर्छ । फ्लु ‘ए’ भाइरस विभिन्न समयमा महामारीको रूपमा देखिँदै आएको छ । ए अन्तर्गत एचथ्री एन टु अर्थात् हङकङ फ्लु पर्छ । यो फ्लु सामान्य रुघाखोकीभन्दा घातक हुने गर्छ । यसले गर्दा श्वासप्रश्वासका साथै निमोनियाको समस्या निम्त्याउने गर्छ ।
डा.पुनका अनुसार यो सङ्क्रमणले गर्दा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने मांसपेशी, जोर्नी दुख्ने, नाकबाट सिगान बग्ने,थकाइ लाग्ने जस्ता लक्षण देखिन्छन् । बालबालिकामा बान्ता हुने पखाला लाग्ने जस्ता लक्षण देखिने डा.पुन बताउनुहुन्छ सामान्यतया मौसमी फ्लुका लक्षण एक हप्तादेखि १० दिनमा आफैं निको हुँदै जान्छ । खोकीले भने दुई हप्ता वा त्योभन्दा बढी समय दुःख दिने उहाँ बताउनुहुन्छ ।
सङ्क्रमितले खोक्दा हाच्छिउँ गर्दा र्याल, सिगान, थुकको माध्यमबाट सर्ने गर्छ । र्याल, सिगान, थुक हातले छोएर नाक, मुख वा आँखामा छोएमा सङ्क्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने डा.पुन बताउनुहुन्छ ।
बच्ने उपाय
चिकित्सकका अनुसार मौसमी फ्लुबाट बच्न बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्न, खोक्दा हाच्छिउँ गर्दा मुख र नाक छोप्न, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल प्रदार्थ र पौष्टिक खाना खान, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न ,आँखा, नाक वा मुख नछुन उहाँको आग्रह छ । जोखिम समूहलाई फ्लुविरुद्धको खोप लगाउन डा.पुनको सुझाव छ । फ्लुविरुद्धको खोपले सङ्क्रमण भए पनि यसबाट हुने जोखिम कम गर्ने डा.पुनको भनाइ छ ।
साभारः गाेरखापत्रबाट