पाेखरा । मानवसेवा आश्रम पाेखराकाे हेम्जा सेवाकेन्द्रमा १ वर्षदेखि आश्रित भारतीय नागरिककाे बुधबार सुखद् पारिवारिक पुनर्मिलन भएकाे छ । पाेखरा हेम्जा सेवाकेन्द्रमा रहेका ३६ वर्षीय विशाल शुक्ला करिब ११ वर्षअघि शिवरात्रिमा हराएर हिजाे मात्र शिवरात्रि दिन घर पुग्न सफल भएका हुन् ।
करिब एक दशकदेखि हराइरहेका शुक्ला बुधबार सेवाकेन्द्रकाे समन्वयमा घर पुगेपछि परिवारमा खुसीकाे सीमा थिएन ।
पेसाले पण्डित समेत रहेका शुक्लाले १२ कक्षासम्मकाे अध्ययन पूरा गरेका छन् । शिक्षित परिवारमा हुर्किएका शुक्ला १० वर्षदेखि घर परिवारविहीन भएर बसेकाे थाहा पाएपछि १ वर्ष अघि उद्धार गरेर हेम्जा सेवाकेन्द्रले संरक्षणमा राखेकाे थियाे । परिवारले उनलाई खाेज्दै भारत लगायत नेपालका विभिन्न मन्दिर मठ धाउँदै गर्दा शुक्ला बुधबार घर पुगेका छन् । उनी भारतकाे उत्तर प्रदेशको बस्ती जिल्लामा रहेको घर पुगेका हुन् ।
१ वर्षदेखि हेम्जा सेवाकन्द्रकाे संरक्षणमा रहेका उनलाई बहिनी सपना शुक्लाकाे रेखदेखमा रहने गरी घर पठाइएकाे हाे । शुक्ला शारीरिक तथा मानसिक रूपमा समेत सामान्य रहेका छन् ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय,अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।