साथीभाइसँग खेल्ने, रम्ने र स्कुल जाने उमेरमा गोपाल विक भारत पस्न बाध्य भए । जीवन धान्न दैनिक मेलापात, कुटो कोदालो र अरुकोमा श्रम गर्नुपर्ने निम्न वर्गीय परिवारमा जन्मिएका विकलाई उमेर भन्दा पनि दुःख र संघर्षले छिट्टै परिपक्व बनायो । त्यसैले त ओखलढुङगामा जन्मिएका गोपाल १३ वर्षकै उमेरमा परिवारको जिम्मेवारी काधमा बोकेर कामको खोजीमा भारत पसे ।
भाडा माझ्नेदेखि कुल्लीसम्मको काम
घरको जिम्मेवारीले बाल्यवस्थामा नै भारत पु¥याएको गोपाल जे सपना र जिम्मेवारी बोकेर परदेश हानिएका थिए । सानै उमेरमा भारत पुगेका उनलाई त्यहाँको वातावरण सहज भने थिएनन् । सुरुवातमा पैसाका लागि जुठो भाडा माझ्ने देखि कुल्ली सम्मको काम गरेको गोपाल बताउँछन् ।
केही वर्षको बसाइँपछि सडक कोर कटिङमा काम पाए । काम कठिन भए पनि पहिलेको भन्दा कमाइ राम्रो थियो । कमाइ राम्रै भएकाले सोही काममा उनले एक दशक भन्दा बढि समय बिताएको बताउँछन् ।
जब पहिरोमा परे र ह्विलचेयरमा नेपाल फर्किए
एउटा लयमा चलिरहेको थियो उनको जीवन । तर, एक्कासी उनको जीवनले नयाँ मोड लियो । राम्रो आम्दानी सहित घर व्यबहार समेत धान्न थालिसेकेका उनी आफैलाई धान्न नसक्ने अवस्थामा पुगे । ३४ वर्षको उमेरमा सडक कोर कटिङको काम गर्दै गर्दा पहिरोमा परि आफ्नो दुवै खुट्टा गुमाए । काम नगरी खान नपुग्ने उनी काम गर्नै नसक्ने अवस्थामा पुगे । त्यसपछि उनी नेपाल फर्किए, आफ्नै गाउघर फर्किए ।
उनको फर्काइ भने सुखद रहेन । न त उनले सोचे जस्तो धन कमाए, न त उनको सकुशल शारीरिक अवस्था नै रह्यो । बिडम्बना भन्नुपर्छ, काम गर्ने क्रममै भएको घटना र परिस्थितिले ह्विलचेयरको साथमा नेपाल फर्कनुप¥यो । घरव्यबहार धान्नको लागि भारत पुगेका उनी अन्ततः आफ्नै शरीर धान्न नसक्ने बन्न पुगे ।
अनि प्यारालाइसिस भयो…
पहिरोले उनीसँग उनको खुट्टामात्र होइन, उनको सपना, परिवार र आफन्तबाट उनको भागमा परेको माया पनि एकैपटक लगेछ । बाल्यअवस्थामा नै बाबु गुमाएका उनले आफु काम गर्न नसक्ने भएपछि बाकीँ रहेका आफन्तको पनि माया र साहारा दुबै गुमाए, पाउथे त केवल सहानुभुति मात्र ।
कुनै समय परिवारको सिँगो घरव्यवहार सम्हालेका उनी भोक लाग्दा बनाएर राखेको खाना सम्म झिकेर खान नसक्ने भए । आमा बुबा दुवै गुमाइसकेका उनले भोक लाग्दा भाइ बुहारीको बाटो र साथ कुर्नुपथ्यो । एकदिन, दुइ दिन भन्दा भन्दै काम गर्न नसक्दा भाइ बुहारीसँगको सम्बन्ध पनि चिसिन पुग्यो ।
आफुले कमाएको पैसाले उपचारको कयौँ प्रयास त गरे, तर उनी पहिले झैँ काम गर्न त परैको कुरा, उभिएर हिँड्न समेत नसक्ने भए । समय बित्दै जादाँ उनको दुबै खुट्टा प्यारालाइसिस भयो । त्यसपछि उनी बेसाहारा भए । के गरौ, कसो गरौ उनलाई केही पत्तो भएन । कसैले दया गरेर केही खानेकुरा दिए उनको पेट भरिन्थ्यो, नत्र भोकै बस्नुपर्ने बिबशतामा पुगे ।
‘डाक्टरले उपचार होइन, उपकार गरे’
संयोग भनौ या उनको सौभाग्य उपचारका लागि वीर अस्पताल काठमाडौं आइपुगेका उनलाई उपचार त लागेन, तर उपचारकै लागि आएका डाक्टरबाट जीवनभर उनी बस्ने ठाँउको टुङ्गो लाग्यो । डाक्टरकै सल्लाहमा २०७८ माघ १३ गते उनले मानव सेवा आश्रमको छहारी पाए ।
हाल उनी आश्रमको परिसरमै रमाउन थालेका छन् । ह्वीलचेयरको सहायताले यताउता हिँड्डुल गर्नु, आफु जस्तै साथीहरुसँग कुराकानी गर्नु, उनीहरुको जीवनको भोगाइ सुन्नु र आफ्ना भोगाइ सुनाउनु, ४८ वर्षीय गोपालको दैनिकी बनेको छ । विहान झुल्केघाम लागेदेखि घाम नअस्ताउञ्जेल सम्म आश्रमको परिसरभित्र यताउता गर्दै हरेक अनुहारलाई नियाल्छन् उनी । उनी भन्छन्, ‘डाक्टरले मलाई उपचार गरेर ठिक बनाउन त सक्नुभएन, तर ठिक बनाए बराबरको उपकार गरिदिनु भो, आश्रमले मलाई सहारा दियो, खुट्टा गुमाएको मलाई टेक्ने र समाउने लौरी दियो ।’
अनुहारमा सदाबहार मुस्कान लिएर ह्विलचेयरमा बसिरहने गोपाल झट्ट हेर्दा सफा र हट्टाकट्टा देखिन्छन् । ‘बाध्यता, परिस्थिति र विभिन्न कारणले घरबारविहिन भएका म जस्तै साथीहरुलाई पनि आश्रमले छहारी दिइरहेको रहेछ । दिनदिनै नयाँ नयाँ सदस्य थपिनुहुन्छ, हेर्दा हेर्दै हाम्रो परिवार त धेरै ठुलो भइसकेछौँ, कोही नहुनेको, केही नहुनेका लागि यो ठाउँ रहेछ, उहाँहरु साँच्चिकै जीवित भगमान हुनुहुन्छ,’ मुस्कुराउदै गोपालले भने ।