भाद्र २८, काठमाडौँ । मानवसेवा आश्रम काठमाडौँको रानीवन शाखामा शुक्रबार पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेशनको संयुक्त आयोजनामा मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को अभियानका बारेमा जानकारीको साथै सहयोगापेक्षी, बेसाहारा, सडकआश्रित मानवहरुका कुरा विषयक विचार विर्मशको लागि पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । ‘चाडपर्वमा कसैले बस्न पर्दैन सडकपेटीमा’ भन्ने भावना बोकेर असोज १५ गतेदखि छठको दिनसम्म मेचीमहाकाली अभियान २०८१ को आयोजना हुँदैछ ।
अन्तरक्रिया कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यू,आनी छोइङ डोल्मा फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माज्यू, मानवसेवा आश्रमका प्रमुख प्रशासकीय अधिकृत उत्तम थापाज्यू, राष्ट्रिय समाचार समितिका अध्यक्ष कृष्णहरि अधिकारीज्यू, पत्रकार टीकाराम यात्रीज्यू, अन्नपूर्ण पोष्टका सुरेन्द्र काफ्लेज्यू, नागरिक दैनिकका उपेन्द्र लामिछानेज्यू, लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
अन्र्तक्रिया कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले आश्रमको गतिविधिको बारेमा जानकारी गराउनुका साथै मेचीमहाकाली अभियानको बारेमा पनि भिडियोमार्फत प्रष्ट्याउनु भएको थियो ।
यस्तै आनी छोइङ डोल्मा फाउन्डेसनकी अध्यक्ष आनी छोइङज्यूले मानवसेवा जीवन सार्थक तुल्याउने बाटो भएकाले मानवसेवा आश्रममा समर्पित सम्पूर्णको सङ्घर्ष देखेर आफू पनि मानवसेवामा समर्पित भएको भन्दै मानवीय कार्यमा जोडिन सबैलाई आग्रह गनुभयो ।
यस्तै सम्पूर्ण पत्रकारहरुको प्रतिनिधित्व गर्दै यात्री मिडियाका अध्यक्ष टीकाराम यात्रीज्यूले कर्मको अभियान मनबाट नै गर्नुपर्ने भन्दै आफूले आश्रमलाई सक्ने सहयोग मन वचन र कर्मबाटै गर्ने बताउनुभयो ।