कास्की - मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखरा हेम्जाले सोमबार थप १ जना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरेको छ । कास्की प्रहरीको सहयोगमा पोखरा महानगरपालिका वडा नं ३० गगनगौडामा दाङ जिल्ला शान्ति गजेडी घर भएका ३६ वर्षिय रेशम खत्री नाम बताउने सहयोगापेक्षीको उद्धार गरिएको हो ।
बेवारिसे अवस्थामा सडकमा फेला परेका उहाँलाई आफन्त नभेटिए सम्म मानवसेवा आश्रम शाखा कार्यालय हेम्जामा संरक्षणमा राखिएको हेम्जा सेवाकेन्द्रले जनाएको छ । मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।