काठमाडाैँ । मानवसेवा आश्रमले गत माघ ७ गतेदेखि १४ गतेसम्म रुपन्देहीमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको आर्थिक प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ मूल आयोजक समिति रुपन्देहीले माघ ३० गतेसम्मको आर्थिक विवरण सार्वजनिक गरेको हो ।
महायज्ञमा नगद, चेक र क्युआर बाट १ करोड २१ लाख ८८ हजार ५ सय २५ रुपैयाँ प्राप्त भएको जनाएको छ । त्यस्तै व्यक्तिगत, संस्थागतरुपमा प्रतिबद्धता प्राप्त रकम ३ करोड ९३ लाख ४२ हजार ४ सय ३७ रुपैयाँ प्रतिवद्धता स्वरूप आएको जनाएको छ । त्यस्तै जिन्सीबापत प्राप्त भई धान चामल विक्री र अनलाइन माध्यमबाट प्राप्त रकम ३ लाख ७६ हजार ९ सय ७० रुपैयाँ रहेको जनाएको छ । त्यस्तै दान पतिकाबाट ३ लाख ९१ हजार २ सय ६९ रुपैयाँ पूजा मण्डपबाट २७ हजार ९ सय २ रुपैयाँ र छुटफुटबाट २ हजार २ सय साठी रुपैयाँ सहित कुल ५ करोड २३ लाख २९ हजार ३ सय ६३ रुपैयाँ ५४ पैसा प्राप्त रहेको आर्थिक विवरण सार्वजनिक गरेको हो ।
त्यस्तै महायज्ञमा खाद्यान्न, भान्सा तथा उपभोग्य सामाग्री, प्रचार प्रसार तथा छपाइ, कलाकार तथा पण्डित खर्च, इन्धन खर्च, विद्युत्, खानेपानी तथा सरसफाइ खर्च, पूजा तथा स्वागत खर्च, मर्मत सम्भार खर्च, बैंक चार्ज, कार्यक्रम खर्च, ज्याला, यातायात तथा ढुवानी खर्च गरी कुल ३४ लाख ८५ हजार १ सय ७८ रुपैयाँ ५० पैसा खर्च भएको छ । खर्च कटाएर महायज्ञमा कुल ४ करोड ८८ लाख ४४ हजार १ सय ८५ रुपैयाँ बचत रहेको छ । यसका साथै धरौटी तथा स्थिर सम्पत्ति,बिजुली धरौटी, बैक मौज्दात र प्राप्त गर्न बाँकी रकम र टिडिएस भुक्तानी बाँकी सहित कुल ४ करोड ८८ लाख ९५ हजार १ सय ४२ रुपैयाँ ३० पैसा बचत रहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।


मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ । आश्रमले आफ्नै मानवताकाे मन्दिर (भवन) निर्माण गर्न महायज्ञ आयोजना गर्दै सहयाेग जुटाउने गरेकाे छ ।