काठमाडौँ । समयले कोल्टे फेरिसकेको छ, पहिला झैँ आजकालमा मानिसहरुका हरेक सम्बन्धहरुमा मिठास कम हुन थालेको छ । सम्बन्धलाई मानिसहरुले पैसा, पावर, प्रतिष्ठासँग जोडेर हेर्ने गरेको पाइन्छ । टाढाका आफन्त, साथीभाइले यसरी दाँज्नु त सामान्य नै हो तर आफ्नै श्रीमतीले श्रीमानलाई पनि पैसा र कामसँग जोडेर हेर्न थालेको पाईन्छ यो विडम्बना हो यस्तै विडम्बनाको पात्र हुनुहुन्छ। अर्घाखाँचीका ४९ वर्षीय केशव पाण्डे दाइ ।
उहाँको घरमा आमाबुवा बितिसक्नुभएको छ। उहाँका तीनजना छोरीहरु हुनुहुन्छ। ठूली छोरी १५ वर्षको भइसकेकी छन्। अरु छोरीहरु १३ र १० वर्षको हुनुहुन्छ । घर अर्घाखाँची भएपनि उहाँहरु परिवारसहित नवलपुरको दलदले भन्ने ठाउँमा कोठा भाडामा लिएर बस्नुहुन्थ्यो । केशव दाइ सडक विभागमा मिस्त्रीको काम गर्नुहुन्थ्यो । काम गरेर आएको पैसाले परिवारको आवश्यकताहरु पूरा गर्दै आउनुभएको थियो ।
काम गर्ने सिलसिलामा बीचमा काम गर्दै गर्दा उहाँको एउटा हात ढुङ्गाले किचेर भाँच्चियो । केही समयपछि त्यो हात केही निको भयो । तर बेला बेलामा दुखिरहन्थ्यो घरमा त्यसै बस्ने उपाय भएन । उहाँ पुन त्यही काममा जान थाल्नुभयो हात दुखिरहन्थ्यो । फेरि अर्को दशा आइलाग्यो उहाँलाई । एउटा हातले काम गर्दा अर्काको भर पुगेन । फेरि अर्को हातमा पनि काम गर्ने औजारले चोट लाग्यो । त्यसपछि उहाँलाई अब घरमै बस्नुको विकल्प रहेन काम गर्दै कमाएर ल्याउने र परिवार पाल्ने दुवै हात भाँचिएपछि उहाँको जिन्दगी पनि उजाडियो । उहाँको एउटा भाइ र दिदीबहिनी हुनुहुन्छ उहाँहरु आफ्नै गृहस्थीमा व्यस्त हुनुुहुन्छ, हातको उपचार गर्न उहाँलाई आफ्न्त साथीभाइ कसैले पनि सहयोग गर्नुभएन ।
काम गरेर पैसा कमाउन नसक्ने भएपछि श्रीमतीले बिस्तारै उहाँसँगको सम्बन्ध नै टुटाउन खोज्नुभयो । उहाँले डिभोर्स पेपर पनि तयार गनुभयो । केशव दाइलाई श्रीमतीले सधै कचकच गनै थाल्नुभयो । तपाईको कमाई छैन मैले कसरी परिवार धान्ने भन्दै सधैँ झगडा गर्नुका साथै डिभोर्स पेपरमा साइन गर्न सधैँ कर गर्न थाल्नुभयो।
केशव दाइलाई हातमा गाह्रो भएपछि उहाँको श्रीमतीले प्लास्टिक फ्याक्टीमा काम गर्न थाल्नुभएको थियो । आफैँले काम गरेर श्रीमानसम्म पाल्नुपर्यो भनेर उहाँको कचकच रोकिएन। त्यसपछि केशव घर दाइले छाडेर हिँड्नुभयो उहाँ खुला सडकतिरै भौतारिन थाल्नुभयो । सोही अवस्थामा मानवसेवा आश्रम हेटौँडाले उद्धार गरेर आश्रममा ल्यााएको हो ।
केशव दाइको सम्पत्ति भनेको नै उहाँका दुइवटा हातहरु हुन्। किनकी उहाँले तिनै हातहरुले परिवार पालिरहनुभएको थियो । उहाँको पूर्खौली सम्पत्तिहरु केही पनि छैन । केशव दाइ अहिले श्रीमतीसँगको पुनर्मिलनको आशामा हुनुहुन्छ । हात मात्रै ठीक भएर परिवारका आवश्कयता पूरा गर्न सक्षम हुन पाए आफूलाई संसार जिते झैँ लाग्ने केशव दाइ बताउनुहुन्छ ।