धनगढी । मानवसेवा आश्रम 'मानवता प्रवर्द्धन महाअभियान' ले आयोजना गरेको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ मा कथा वाचक गुरु भाष्कर कमलनयन गौतम सुदूरपश्चिम कैलालीको धनगढी आइपुग्नु भएको छ । उहाँलाई मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मंगलबार साँझ सुदूरपश्चिममा स्वागत गर्नु भएको हो । बुधबार अर्थात माघ २३ गते धनगढी १ पशुपति टोलस्थित महोत्सवस्थलमा श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ सञ्चालन हुँदैछ । उक्त महायज्ञको समुद्घाटन मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुहुने कार्यक्रम रहेको छ ।

माघ २३ गते बिहान १०ः३० बजे मानवता प्रेमी मनहरूका साथमा बाजागाजा, सांस्कृतिक झाँकी र कलशयात्रा सहित सुरू हुने महायज्ञकाे समुदघाटनकाे दिन पहिलो लेयरमा सडकआश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोली रहने छ । विभिन्न सांस्कृतिक बाजागाजा सहित भुवा,हुड्केली,हलिया, पुतला, गौरा, सखिया, होली,देउडा,लाखेनाच सहित सांस्कृतिक झाँकी सहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा हुनेछ । कलश यात्रा पश्चात औपचारिक रूपमा समुद्घाटन हुने समारोहमा मुख्यमन्त्रीको विशेष सम्बोधन सहितको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भयो । महायज्ञ माघ ३० गते सम्म चल्नेछ ।

महायज्ञमा हरेक दिन दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग पीठका केन्द्रीय प्रभारी, लवदेव मिश्र लगायतबाट योग शिविर सञ्चालन हुनेछ । विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवर्द्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रमहरू २ सेसनमा बिहान साँढे ७ बजे देखि साँढे ९ बजेसम्म र बिहान १० बजे देखि ११ बजे सम्म हुने छन् । महायज्ञमा २४ गतेबाट ३० गते सम्म हरेक दिन भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट बिहान साँढे ११ बजेदेखि साँढे ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा वाचन कथा वाचन हुनेछ । साँझ साँढे ४ बजे पछि दिव्य आरती तथा प्रसाद वितरण हुने मूल आयोजक समितिले जनाएको छ । हरेक दिन साँझ ६ः०० बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य कार्यक्रम रहनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू आयोजना हुनेछ । हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप,पाठ परायण आदि हुने छन् ।
समितिका अनुसार महायज्ञमा उपस्थित भक्तजनहरूको ७ दिन नै चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण सञ्चालन हुनेछ । महायज्ञकै अवसरमा मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवको अवस्था झल्किने गरी सडक र स्टेज दुवैमा नाटक प्रहर्सन गर्ने तयारी छ ।
तन, मन र धनको त्रिवेणीका रूपमा सुदूरपश्चिम प्रदेशवासी आमा, बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सहभागी गराउने अभिष्ट राखी महायज्ञको आयोजना गरिएको हो । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरियता मानवीय मन्दिर (भवन) धनगढी उपमहानगर १५ उर्मीमा २ विगाह जग्गामा निर्माण सुरु भइसकेको छ । यसलाई सम्पन्न गर्नका लागि आर्थिक संकलन र सद्भावनाका लागि महायज्ञ आयोजना गरिएको आश्रमका अध्यक्ष अधिकारीको भनाई छ । करिब ३७ करोड रुपैयाँको गुरु योजना सहित निर्माण सुरु गरेको उक्त जग्गामा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोमञ्जन केन्द्रको स्थापना सहित गुरु योजना तयार भएको छ । यो मानवीय मन्दिर निर्माण भएपछि सुदूर पश्चिमाञ्चलका २ सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवम् सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । सरकारका तीनै तहले गर्नुपर्ने कार्य पछिल्लो समय मानवसेवा आश्रमले गरिरहेको छ भने विभिन्न जिल्लामा यस अघि निर्माण भइसकेका मानवीय मन्दिर निर्माणमा सरकारका तीनै तहबाट र मानवता प्रेमी मनहरूबाट सहयोग जुटेर सेवा सञ्चालन भइरहेको छ । २०८२ सालमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल ‘मिसन २०८२’ गर्ने गरी आश्रमले अभियान सञ्चालन गरिरहेको छ ।