धनगढी । मानवसेवा आश्रमद्वारा धनगढीको साैराइ पार्टी प्यालेसमा आश्रमले साङ्लोमा बाँधिएका मानवहरूको कथा समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको छ ।वृत्तचित्र हेर्न आएका धेरैजसो दर्शकहरू आँखामा आँसु थियो ।
आइतबार सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश नेपाल निर्माण र मानवता प्रवर्द्धनको लक्ष्य राखी तयार पारेको 'मरेर पनि बाँचिरहेका र बाँचेर पनि मरिरहेकाहरूको कथा 'साङ्लो' शीर्षकको वृत्तचित्र प्रस्तुत भएको हो ।

कार्यक्रममा ४ सयभन्दा बढी धनगढीवासीको उपस्थिति रहेको थियो । धनगढी उपमहानगरपालिका भित्र रहेका टोल विकास समिति, टोलका सरसफाइ समिति, शैक्षिक व्यक्तित्व, स्वयंसेवक, व्यापारी, बुद्धिजीवी, आमा समूह, धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रहेका व्यक्ति तथा स्थानीय तहका कर्मचारी जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रेरणात्मक प्रस्तुति राख्नु भएको तियो । आश्रमले माघ २३ गतेदेखि सञ्चालन गर्न लागेको महायज्ञको उद्देश्यबारे पनि कार्यक्रममा प्रस्ट पार्नु भयो ।
आइतबार धनगढी १५ उर्मीमा बन्दै गरेको आश्रमको भवन निर्माणका लागि हुन लागेको महायज्ञ लक्षित गरी दाताहरूले महायज्ञ सुरु नहुँदै दान गर्न थाल्नु भएको छ । मानवसेवाकाे यो पवित्र कार्यका लागि सोही दिन धनगढी स्थित चैतन्य पाठशालाबाट १ लाख १ हजार रुपैयाँ, नवजीवन सहकारी संस्था लिमिटेडले अक्षयकोष निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान भएको छ । त्यस्तै लायन्स क्लब अफ नैनादेवी धनगढीले ५१ हजार रुपैयाँ, केदारदत्त भट्टले आजीवन भोजनसेवा योगदानको लागि १ लाख ११ हजार १ सय रुपैयाँ र व्यवसायी नरेशबहादुर कुँवरले ५१ हजार रुपैयाँ योगदान गर्नुभएको छ ।
कार्यक्रम सम्पूर्ण व्यक्तिलाई आश्रमको आवश्यकता र महत्वबारे बुझाउन आश्रमले तयार पारेको वृत्तचलचित्र देखाइएको हो ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायट, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।