काठमाडौँ । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाकाे भवन निर्माणका लागि हुन लागेकाे श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको तयारीबारे जानकारी दिन धनगढीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

आश्रमले धनगढीमा माघ २३ देखि ३० गतेसम्म श्रीमद् भागवत महायज्ञको आयोजना गर्न लागेकाे महायज्ञ मूल अायाेजक समितिका संयाेजक मदन कुँवरले जानकारी दिनुभएकाे छ । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलालीकाे धनगढी शाखाको भवन निर्माणका लागि भावनात्मक एवम् आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञको आयोजना गर्न लागेकाे अाश्रमले जनाएकाे छ ।
-1738407605.jpg)
२०७५ साल मंसिर १ गते सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी– ५ तारानगरमा घर भाडामा लिई मानवसेवा आश्रम धनगढी शाखाकाे शुभारम्भ भइ हालसम्म करिब ४ सय जना बेसहारा, असहाय, अभिभावकविहिन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरुबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । आश्रमले आजको दिनसम्म धनगढी उपमहानगरपालिका ५ नं वडा र १५ नं गरी २ वटा सेवाकेन्द्रबाट ८० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई खाना, नाना, छाना, स्वास्थ्य र शिक्षासहित सेवा प्रदान गर्दै आइरहेकाे छ ।
यस पुण्य कार्यमा सुदूरपश्चिम प्रदेशबासी सबै मानवताप्रेमी मनकारी दाताहरूलाई महायज्ञमा सरिक हुन मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले आग्रह समेत गर्नुभएकाे छ ।

सहयोगापेक्षी सडकआश्रित मानवहरुको संरक्षकको भूमिका खेल्दै आएका र मानवता प्रवर्द्धन महाअभियानका लागि निरन्तर सेवा गर्दै आएको मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको आफ्नै भवन निर्माण सम्पन्न गर्न महायज्ञको आयोजना गर्ने भएको छ ।
आश्रमले भवन निर्माणका लागि १५ करोड रुपैयाँ भन्दाबढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भएको छ । त्यस्तै महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले गोरखामा जन्मनु भएका रामजी अधिकारी मानवसेवा गर्दै सुदुरपश्चिम आउनु भएको र सुदुरपश्चिमलाई सडक आश्रित मानव मुक्त गर्ने संकल्प लिएर आउनु भएकाले सुदुरपश्चिमका स्थानीय तह, प्रदेश सरकार र संघ सरकारले गर्नु पर्ने कार्य मानवता प्रवर्द्धन अभियन्ताहरुले गरिरहेको र उहाँहरुलाई सुदूरपश्चिमबासीले साथ दिनुपर्ने बताउनु भयो ।

माघ २३ गतेदेखि सुरू हुने महायज्ञ ३० गतेसम्म पशुपति टाेल सुदूरपश्चिम महाेत्सव स्थल हुने ठाउँमा सञ्चालन हुनेछ ।