रूपन्देही । मानवसेवा आश्रम रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि तिलोत्तमा नगरपालिकाले ५० लाख प्रदान गर्ने भएको छ । शनिबार महायज्ञमा सहभागी हुँदै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडले आश्रमलाई सो प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हाे । नगर प्रमुख खाँडले तिलाेत्तमा नगरपालिकाले सधैँ आश्रमलाई साथ सहयाेग गर्दै आएकाे र थप सेवा विस्तारका लागि उक्त रकम प्रदान गर्ने बताउनुभयाे । महायज्ञमा उप-प्रमुख जागेश्वरदेवी चाैधरीकाे समेत उपस्थिति रहेकाे थियाे ।
त्यस्तै तिलाेत्तमा नगरपालिका ५ नम्बर वडा कार्यालयबाट १ लाख ५१ हजार, ६ नम्बर वडा कार्यालयबाट २ लाख, ९ नम्बर वडा कार्यालयबाट १ लाख १० हजार, १० नम्बर वडा कार्यालयबाट २० हजार र ११ नम्बर वडा कार्यालयबाट १ लाख ५१ हजार सहयाेग गर्ने प्रतिवद्धता प्राप्त भएकाे आश्रमले जनाएकाे छ ।
मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयोजना गरेको हो ।
मानवसेवा आश्रमले मणिग्राममा माघ ७ गतेदेखि सुरू गरेको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ भने महायज्ञमा चर्चित कथा वाचक भागवत् भास्कर कमलनयन गौतमले निःशुल्क कथा वाचन गरिरहनुभएको छ । महायज्ञबाट सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा थप टेवा पुग्नेछ ।
वि.सं २०७५ साल पुस ७ गते लुम्बिनी प्रदेशको रुपन्देही बुटवलमा घर भाडामा लिई मानवसेवा आश्रमको शाखा शुभारम्भ गर्दै आएकोमा विगत २ वर्षदेखि तिलोत्तमा-६ पश्चिमपहुनी (मोक्षधाम सेवा आश्रम) परिसरमा निर्माण भएको भवनबाट आश्रम सञ्चालनमा रहेको छ ।
मानवसेवा आश्रम तिलोत्तमा शाखाले हालसम्म १२ सय ५० जनाभन्दा बढी बेसहारा, असहाय, अपाङ्ग, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिस, अभिभावकविहीन लगायत जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । आश्रमले ३ सय १५ जनाको सुखद् पारिवारिक पुनर्मिलन गरिसकेको छ ।