दाङ - मानवसेवा आश्रम शाखा कार्यालय दाङ तुलसीपुर शाखामा माधव पोखरेल र सृजना पोखरेलले वैवाहिक जीवन सुरु गरेको उपलक्ष्यमा दिवा खाजा सेवा योगदान गर्नुभएको छ । तुलसीपुर १८ विजौरीका पोखरेल दम्पतीले मानवताका लागि सबै उदारमनादाताहरुले सहयोगापेक्षीहरुको सहारा बनिरहेको मानव सेवा आश्रमलाई सकेको दान गरेर सघाउनु पर्ने धारणा राख्नु भयो ।
मानवसेवा आश्रम दाङ शाखा २०७८सालमा स्थापना भएको हो । यस शाखाले हालसम्म मानवसेवा आश्रम दाङ शाखाले २१७ जना सडकमानवको उद्धार गरेको छ । ८३ जना लक्ष्मीनारायणज्युहरुको सुखद पारिवारिक पुनर्मिलन गरिसकेको छ । हाल ५२ जना सहयोगापेक्षी मानवहरू यस सेवा केन्द्रमा आश्रित छन् ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला रविदेशमा बेलायट, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।