भाद्र २६, काठमाडौँ । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा र पूर्ण कार्यान्वयनका लागि बुधबार मानवसेवा आश्रम मुख्य कार्यालय हेटौँडामा साझेदारी यात्रा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहका, सम्बन्धित निकायहरु, नागरिक समाजसँगको शुभभावना र प्रतिवद्धता संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सो क्षेत्रका जनप्रतिनिधिहरु, राष्ट्रसेवक, सरोकारवाला निकायका प्रमुख प्रतिनिधि एवं नागरिक समाजले आभियानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यू, हेटौँडा जिल्ला समन्वय समिति प्रमुख ललित घलानज्यू, सहायक सिडियो लोकमान श्रेष्ठज्यू , डीएसपी कृष्णहरि शर्माज्यू, गढी गाउँपालिका उपप्रमुख मानकुमारी पाख्रिनज्यू हेटौँडा उपमहानगरपालिका प्रमुख प्रसाशकीय अधिकृत सूर्यप्रसाद गौतमज्यू, सशस्त्र प्रहरी बलका जानप्रसाद भुर्तेलज्यू लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले वास्तविक सहयोगापेक्षीहरु को हुन र आश्रमभित्र कस्ता व्यक्तिहरुरले आश्रय पाउने भन्नेबारे प्रष्ट पार्नुभएको थियो । यस्तै जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले मानवसेवा आश्रमले मानवीयताका सवालमा खेलेको भूमिकाको प्रसंशा गर्दै सडक मानवमुक्त देश नेपाल बनाउने संकल्पलाई साकार पार्न सबैको साथ र सहयोग आवश्यक रहेको र आफ्नोतर्फबाट पनि सकेको सहयोग गर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिका प्रमुख प्रसाशकीय अधिकृत सूर्यप्रसाद गौतमले मानवसेवाको क्षेत्रमा उपमहानगरले गर्ने लगानी निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।