बुटवल । यही माघ ७ गते सोमबार देखि तिलोत्तमा–५ मणिग्राम सञ्चालन हुने महायज्ञको तयारी तीव्रताका साथ भइरहेको छ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रका आएका २५ जनाभन्दा बढी अभियन्ता तथा कर्मचारीहरू यति बेला तिलोत्तमा महायज्ञ सफल बनाउन लागि परेका छन् । महायज्ञ सुरु हुन ३ दिन बाँकी रहँदा सबै जना आफ्नो जिम्मेवारी वहन गर्दै सेवा सहजीकरणमा दिनरात नभनी खटिरहेका छन् ।

मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा सेवाकेन्द्रको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना हुन लागेको हो । आश्रमलाई तन, मन, धनको त्रिवेणीबाट योगदान पुर्याउनुहुने सम्पूर्ण उदारमना दाताको लागि कृतज्ञ ज्ञापन गर्ने पनि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ उद्देश्य रहेको महायज्ञ मूल आयोजक समिति संयोजक लोकनाथ भुसालले बताउनुभयो ।
महायज्ञले अक्षयकोष श्रीवृद्धि गरी आश्रममा आश्रित सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनमा गर्न सघाउ पुग्ने छ । तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान सब्जी मण्डी नजिकै) मा माघ ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले निःशुल्क कथा वाचन गर्नु हुने कार्यक्रम रहेको छ ।
महायज्ञ माघ ७ गते बिहान १० बजे शोभा कलश यात्राबाट सुरु भई दिउँसो १२ः३० बजे समुद्घाटन हुनेछ । महायज्ञबाट ३ करोड संकलन हुने अनुमान गरिएको छ ।

शोभा कलश यात्रामा उपस्थिति जनाउने र र्यालीमा उत्कृष्ट प्रदर्शन हुनेलाई प्रथम, द्वितीय र तृतीयको लागि उचित सम्मानको व्यवस्था गरिएको महायज्ञ मूल आयोजन समितिले जनाएको छ ।
वि.सं २०७५ साल पुस ७ गते लुम्बिनी प्रदेशको रुपन्देही बुटवलमा घर भाडामा लिई मानवसेवा आश्रमको शाखा सुरु भएको हो । विगत २ वर्षदेखि भने तिलोत्तमा-६ पश्चिम हुनी मोक्षधाम सेवा आश्रम परिसरमा निर्माण भएको भवनबाट आश्रमले आश्रितहरूको सेवा गर्दै आएको छ ।

यस आश्रमले हालसम्म १२५० जनाभन्दा बढी बेसहारा, असहाय, अपाङ्ग, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिस, अभिभावकविहीन लगायत जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।
महायज्ञ किन ?
- मानवसेवा आश्रमको तिलोत्तमा सेवाकेन्द्रको मानवीय स्मारक भवनको स्तरोन्नति एवम् अक्षयकोष श्रीवृद्धिका लागि
- भवन निर्माणका लागि योगदान पुर्याउने दातालाई कृतज्ञता ज्ञापन गर्न
- सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको आधार तय गर्दै आम सर्वसाधारणहरूमा मानवता प्रवर्द्धन गर्न
महायज्ञका कार्यक्रमहरू
- २०८१ माघ ७ गते बिहान १० बजे मानवता प्रेमी मनहरूसहित बाजागाजा सहित, सांस्कृतिक झाकी, शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा ( श्री दुर्गा वैदिक संस्कृत विद्यापीठ, तिलोत्तमा- १ नयाँ मिलबाट)
- प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर तथा बिहान ८ बजेदेखि १० बजेसम्म विद्यार्थी माझ सकारात्मक सोच एवम् मानवता प्रवर्द्धनका कार्यक्रम
- प्रत्येक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म प्रसिद्ध कथा वाचक भागवत भास्कर कमलनयन गौतमज्यू द्वारा सङ्गीतमय श्रीमद् भागवत कथा वाचन ।
- राष्ट्रिय कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला तथा नृत्यहरू
- लक्ष्यवर्ति, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, जप, पाठ परायण ।
- प्रत्येक दिन साँझ ४: ३० बजे दिव्य रती तथा प्रसाद वितरण
- साँझ ५:३० बजेदेखि स्थानीय कलाकारहरू द्वारा भजन, कीर्तन र नृत्य
- गीता पाठ, चण्डी पाठ, शनिस्ताेत्र पाठ एवम् स्वस्ति, शान्ति लगायतका कार्यहरू
आश्रमको आवश्यकताको दायरा फराकिलो भएकाले दाताहरूले महायज्ञमा कुनै पनि प्रकारको सहयोग गर्दा आफू अनुकूल हुने गरी, आफ्नो इच्छाअनुसार नगद तथा जिन्सी, भूमि, योगदान गरी मानवसेवा आश्रमको सेवामा सहयोग गर्न सकिने र योगदान बमोजिम दाताको उचित सम्मानको प्रबन्ध मिलाइएको मूल आयोजक समितिले जनाएको छ । तुला दान गर्न चाहनु हुनेलाई तुला दानको आधार सम्मान गरिनेछ । अन्य पूजामा सहभागी दाताहरूले सोही अनुसार सम्मान गर्ने प्रबन्ध मिलाइएकाे छ ।


मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ । नेपालमा २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि आश्रमले वि.सं २०६९ सालदेखि निरन्तर मानवीय सेवा गर्दै आइरहेकाे छ ।
हालसम्म १०,६८७ जनाभन्दा बढी सहयोगापेक्षी बेसहारा सडक मानवहरूको उद्धार गरी मानवोचित व्यवस्थापन गराइसकेको यस आश्रमले हालसम्म २० जिल्लाहरूमा २६ वटा सेवाकेन्द्रहरुबाट सेवा विस्तार गर्दै मानवता प्रवर्द्धनमा अगाडि बढिरहेको छ ।

