वीरगञ्ज । देशभर जाडो बढिरहेका बेला चिसो मौसमलाई ख्याल गर्दै मानवसेवा आश्रम पर्साको वीरगञ्ज सेवाकेन्द्रलाई दाउरा सहयोग याेगदान भएकाे छ ।
वीरगञ्ज सेवाकेन्द्रको संरक्षणमा रहनुभएका मानवहरूलाई जाडाे माैसममा आगाे ताप्न सहज हाेस् भनी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दाउरा सहयोग गर्नुभएकाे हाे ।
तराईका विभिन्न जिल्लाहरूमा यतिबेला जाडोले जनजीवन प्रभावित भएकाे छ । आश्रममा रहनुभएका आश्रितहरूको लागि जाडो मौसममा आगो ताप्न सजिलो होस् भन्ने उद्देश्यले दाउरा योगदान गरिएको अर्यालले बताउनुभयो । अर्यालले शुक्रबार वीरगञ्ज सेवाकेन्द्रको अवलोकन गर्नु हुँदै आश्रमको आवश्यकताबारे जिज्ञासा राख्नुभएको थियो । सेवाकेन्द्रको आवश्यकता महसुस गरी आफ्नो तर्फबाट १ ट्रक दाउरा पठाइ सहयाेग गर्नुभएकाे आश्रमले जनाएकाे छ ।

ए.पी.एफका एस.पी राधेश्याम धिमाल, डी.एस.पी नरेन्द्र सिंह धामी र इन्स्पेक्टर दिपेन्द्र मल्लले आश्रममै आएर दाउरा ल्याउन सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै नेशनल प्याब्सन को २७ औँ स्थापना दिवसको अवसरमा नेशनल प्याब्सन पर्साले वीरगञ्ज सेवाकेन्द्रमा आवश्यक पर्ने खाद्यान्न सामग्री सहयाेग गरेकाे छ ।

शनिबार मानवसेवा आश्रम वीरगञ्ज सेवाकेन्द्रलाई आवश्यक पर्ने खाद्यान्न र सरसफाई सामग्री नेशनल प्याब्सन पर्सा, वीरगञ्जले प्रदान गरेकाे हाे । कार्यक्रममा नेशनल प्याब्सनका मधेश प्रदेश अध्यक्ष डा. नन्दन यादव, नेशनल प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, कोषाध्यक्ष राजेश लिम्बु, सदस्यहरु राजेन्द्र पटेल र प्रदिप कर्ण लगायतकाे उपस्थिति रहेकाे थियाे ।