भक्तपुर । मानवसेवा आश्रम शाखा कार्यालय कौशलटार भक्तपुर शाखामा लायन्स क्लब अफ मध्यपुर थिमि शंखधरका पदाधिकारी तथा सदस्यहरूले भोजन सेवा योगदान गरेको छ । लायन्स क्लब इन्टरनेशनलका संथापक मेंभिन जोन्सको १४६ औ जन्म दिवसको अवसरमा क्लबले भोजन सेवा योगदान गरेको हो ।

लायन्स क्लब अफ मध्यपुर थिमि शंखधरका अध्यक्ष श्रीराम श्रेष्ठ र उपाध्यक्ष भावना गुरुङले अब आउने दिनमा पनि आश्रमलाई आफ्नो व्यक्तिगत र संस्थाको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ । उहाँहरूले आश्रमको सेवाको प्रशंसा गर्नु हुँदै मानव सेवा सबैभन्दा ठुलो धर्म भएको बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष, उपाध्यक्ष लगायत अन्य सदस्यहरूको समेत अपस्थिति रहेको थियो ।

मानवसेवा आश्रम भक्तपुर सेवाकेन्द्र विक्रम संवत् २०७६ सालमा स्थापना भएको हो । यस सेवाकेन्द्रले हाल सम्म २ सय ५१ जना सडक आश्रित मावनको उद्धार गरेको छ । हालसम्म ७६ जना आश्रितहरूको सुखद पारिवारिक पुनर्मिलन गराइसकेको छ । सेवाकेन्द्रमा हाल ४० जना सहयोगापेक्षी सडक मानव आश्रित रहेका छन् ।

मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।

यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ ।

घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।