काठमाडौँ । प्रभु बैंक लि. बबरमहलको संयोजनमा जेरियाट्रिक सोसाइटी नेपालका आयोजनमा मानवसेवा आश्रम काठमाडौँ सामाखुसी सेवा केन्द्रमा आश्रित मानवहरूको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण पछि उहाँहरूका लागि आवश्यक औषधीजन्य सामग्री समेत योगदान गर्नु भएको छ ।
सेवामा उपस्थित जेरियाट्रिक सोसाइटी नेपालकाका अध्यक्ष डाक्टर उमेश बोगटी, कार्यसमिति सदस्य डाक्टर अनन्त अर्याल, कार्यकारी निर्देशक युवराज रोका, आउट रिच कोअर्डिनेट डाक्टर उमेश कोइराला जीतबहादुर पुन, अमृत थापा लगायत प्रभु बैंकको तर्फ गंगा दत्त कपाडी लगायत उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।