रुपन्देही । मानवसेवा आश्रमलाई रुपन्देही भलवारी जेसिजले सम्मान गरेको छ । मानवता प्रवर्द्धनकाे क्षेत्रमा मानवसेवा आश्रमले खेलेको भूमिकाको कदर गर्दै रूपन्देहीको भलवारी जेसिजले २२औ पद हस्तान्तरण कार्यक्रमका बीच शुक्रवार मानवसेवा आश्रमलाई सम्मान गरेको हो । कार्यक्रममा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमको विगत वर्तमान र आगामी दिनमा आश्रमले मुलुकलाई सडकआश्रित मानव मुक्त बनाउन मिसन बनाएरै अघि बढेको जानकारी गराउनु भयो । मानवता प्रवर्द्धनकै लागि आश्रमले आगामी माघ ७ गते देखि १४ गते सम्म हुने श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ रुपन्देहीमा आयोजना समेत गर्दैछ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।