काठमाडाैं । ३४ औँ अन्तर्राष्ट्रिय तथा चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मानवसेवा आश्रम लमजुङ सेवा केन्द्रमा आश्रित सहयोगापेक्षी सडक आश्रित मानवका लागि ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण भएको छ । लमजुङका सामाजिक विकास कार्यालय, ज्येष्ठ नागरिक सङ्घ र पतञ्जलि जिल्ला समितिको समन्वयमा आयोजित उक्त कार्यक्रम ‘सभ्य समाजको आधार ज्येष्ठ नागरिक मैत्री घरपरिवार’ भन्ने मूल नाराका साथ आश्रममा कार्यक्रम आयोजना गरिएको थियो । सामाजिक विकास कार्यालय लमजुङका कार्यालय प्रमुख मिता कुमारी थापाको अध्यक्षतामा आश्रममा कार्यक्रम आयोजना भएको हो ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।