धनगढी । एन.एल.आर नेपाल संस्थाले आफूले उपयोग गर्दै आएका सम्पूर्ण फर्निचर र उपकरण, डेस्कटप लगायतका सामग्रीहरू मानव सेवा आश्रम सेवाकेन्द्र धनगढीलाई योगदान गरेको छ । धनगढी – ५ सत्कार चोकमा रहेको यस संस्थाले विगत ४० वर्षदेखि सुदूरपश्चिममा कुष्ठ रोग नियन्त्रण सम्बन्धी कार्य गर्दै आएको थियो । संस्थाको कार्य अवधि समाप्त भएसँगै आफूले उपयोग गरेका कार्यालयका सामाग्री मानवसेवा आश्रमलाई उपयोगी हुने भएकाले आश्रमलाई प्रदान गरिएको हो । वडा अध्यक्ष गजेन्द्र शाहीले सामग्री बुझेर आश्रमलाई हस्तान्तरण गर्नु भएको हो ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।