कास्की । गण्डकी प्रदेश स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मानवसेवा आश्रममा आश्रित सहयोगापेक्षी मानवका लागि मासिक रूपमा चिकित्सकीय सेवा र मानसिक रूपमा कमजोर आश्रितहरूका लागि उपचारार्थ नियमित लाग्ने औषधी व्यवस्था गरिदिन प्रदेश स्वास्थ्य मन्त्रालयबाट नीतिगत व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सोमवार हेम्जा सेवाकेन्द्रको अवलोकन गर्दै उहाँले आश्रममा आश्रितहरूका लागि भोजन सेवा समेत योगदान गर्नुभएको छ । आश्रम अवलोकनका क्रममा धेरै समय आफ्नै गाउँ–ठाउँ बाट सम्पर्क विहीन भएका चिनजानकै व्यक्तिहरूलाई आश्रम भेटिएको भन्दै मन्त्री पाठक भावुक बन्नु भयो । उहाँले मानवसेवा आश्रम मानवताको मन्दिर भएकाले यो मन्दिर जानेहरूले पुण्य कमाउने बताउनु भयो ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।