काठमाडौँ । मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रमा आश्रित पोखराका मिथिला मानव (लक्ष्मी हमाल)को सुखद पारिवारिक पुनर्मिलन भएको छ । गत मंसिर १८ गते काठमाडौँको कीर्तिपुरबाट उद्धार गरिएका हमालका परिवार (दाइ) मनोजहमाल र उहाँकी बहिनी उहाँलाई लिन राम्जा गाउँपालिका ७ कास्कीबाट काठमाडौँ रानीवन सेवाकेन्द्र आउनु भएको हो । २ महिना अघि घरबाट हराएकी उनी कसरी कीर्तिपुर आइपुगिन् भन्ने जानकारी आफूहरूलाई नभएको मनोज हमालले बताउनु भयो ।
लक्ष्मी हराएपछि मानवसेवा आश्रम कास्की सेवाकेन्द्रमा उहाँको परिवारले सम्पर्क राख्नु भएको हमालले बताउनु भयो । उहाँले मानवसेवा आश्रमको मानवता सम्वन्धि अभियानले विभिन्न कारण सडकमा पुगेका मानवहरूलाई घरमै पुनर्स्थापना गर्न सघाउ पुर्याएको भन्दै मानवसेवा आश्रमलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै उहाँले आमाको नामबाट आश्रमलाई ६ हजार रुपैयाँ योगदान समेत गर्नुभएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।