कास्की । मानवसेवा आश्रम कास्की हेम्जा सेवाकेन्द्रबाट २ सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको छ । उद्धार गरिएकामा धादिङ लप्सेबोट ३ स्थायी घर भएका वर्ष ३२ को सचिन खत्री रहेका छन् । उहाँलाई पोखरा ९ तुलसी घाटबाट सडकपेटीमा बेवारिसे अवस्थामा फेला पारी उद्धार गरिएको हो ।
त्यस्तै मुस्ताङ गाउँपालिका २ स्थायी घर भएका हरि विश्वकर्माको पनि पोखरा ९ बाट तुलसी घाटबाटै उद्धार गरिएको छ । सडकपेटीमा बेवारिसे अवस्थामा भेटिएका उहाँहरूलाई मानवसेवा आश्रम पोखराको हेम्जा शाखामा आश्रय दिइएको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।