नेपालगन्ज । मानवसेवा आश्रम नेपालगन्ज शाखाबाट एक जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको छ भने एक जना आश्रितको सुखद पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धार हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वर्ष ४७ को अफजल राई रहेका छन् । उहाँकाे मानसिक स्थिति कमजोर रहेकाे पाइएकाे छ । पारिवारिक पुनर्मिलन हुनेमा ५१ वर्षीय तुलबहादुर नेपाली रहेका छन् ।
उहाँलाई गत वर्ष पुस २९ गते मानसिक सन्तुलन गुमाएको अवस्थामा सुर्खेत सेवाकेन्द्रले उद्धार गरेको थियो । बुधवार बाँके खजुरा गाउँपालिका ६ का उहाँको छोरा पदम नेपाली सम्पर्कमा आई उहाँलाई परिवारका साथमा लिएर जानु भएको हो । उहाँलाई मानवसेवा आश्रम नेपालगन्जका विष्णु घर्तीले उहाँको छोराका साथमा पारिवारिक पुनर्मिलन गराउनु भएको हो ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।