रुपन्देही । लुम्बिनी प्रदेश रुपन्देही तिलोत्तमा सेवा केन्द्रबाट २ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको छ । उद्धार हुनेहरूमा एक पुरुष र एक महिला रहेका छन् । बेवारिसे अवस्थामा सिद्धार्थ नगरपालिका ८ विविध टोलबाट सपना श्रेष्ठ नाम बताउने अधवैशे महिला र विक्रम चौधरी नाम बताउने अन्दाजी ३७ वर्षीय पुरुषको उद्धार गरिएको हो । निज दुबैजनालाई तिलोत्तमा सेवा केन्द्रमा आश्रय दिएर राखिएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।