– गणेश घिमिरे ‘मार्मिक’
सङ्गत नगरुन्जेल के हो के हो भए पनि थाहा पाई सकेपछि र प्रत्यक्ष देखपछिको प्रभाव बेग्लै हुँदो रहेछ । छोरी अनुषा घिमिरेले अस्ट्रेलियाबाट परिवारका सदस्यहरूको जन्मोत्सव तथा विवाहोत्सवका अवसरमा नेपालका विभिन्न आश्रममा शिक्षार्जन गरिरहेका विद्यार्थीहरू तथा विभिन्न आश्रमहरूमा रहेका आश्रित वृद्धवृद्धाहरूलाई यथाशक्य सहयोग गर्ने सिलसिलामा यस पटक भक्तपुरको कौशलटार स्थित मानवसेवा आश्रममा पुगियो । सुरुमा टेलिफोनबाट जानकारी लिँदा उक्त आश्रममा ५५ जना आश्रित रहेको जानकारी प्राप्त भए अनुसार हामीले ५६ जनाका लागि फलफूल तथा बिस्कुटको व्यवस्था गरेर त्यहाँ पुग्दा ३८ जना मात्र आश्रित रहेको पाइयो । बाँकी आश्रितका बारेका जिज्ञासा राख्दा अर्को केन्द्रमा पठाइएको बताइयो । जे होस् अर्पिएर लगेका खानेकुराहरू सबै अर्पण गरेर हामी फर्कियौँ ।
उक्त केन्द्रका अनुसार आश्रितहरूलाई एक छाक खाना खुवाउन चाहने दाताहरूबाट रु.दश हजार लिने गरिएको बताइयो । तर हामीले भने सामान नै किनेर लगेका थियौँ । उक्त केन्द्रमा पुग्दा त्यहाँकी स्वयंसेविका काव्या पोखरेल लगायतका व्यक्तिहरूबाट अत्यन्त राम्रो व्यवहार हामीले पायौँ । उहाँहरूको व्यवहार वास्तवमै अनाथ असहायहरूको सेवामा तल्लीन स्वयंसेवकहरूमा हुनुपर्ने खालकै पाइयो । म र मेरी जीवन सँगिनी रेखा उहाँहरूको व्यवहारबाट प्रभावित भयौँ । उहाँहरूले हामीलाई आश्रमको कार्यालयमा लगेर राख्नुभयो । चिया पिलाउनुभयो र उक्त आश्रमको मेची–काली अभियानका विभिन्न झलकहरू कार्यालयको भित्तामा रहेको टेलिभिजनको पर्दामा युट्युबका माध्यमबाट देखाउनुभयो । वास्तवमै उत्कृष्ट मानवीय सेवामा समर्पित उक्त मानवसेवा आश्रमको पवित्र उद्देश्य र कार्य निकै नै प्रशंसनीय लाग्यो हामीलाई । यस्तै पवित्र भावनाले मानिसलाई सत्कर्ममा अभिप्रेरित गर्ने रहेछ ।
बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको प्रतिबद्धता र मानवीयताको राष्ट्र आफ्नो सपना बनाएर स्थापना भएको मानवसेवा आश्रमको प्रमुख उद्देश्य यस प्रकार रहेको देखिन्छ —
१. वि.सं.२०८२ सालभित्र शारीरिक तथा मानसिक रूपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन विवश घरबारविहीन, बेसहारा, परित्यक्त, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवरहित राष्ट्र नेपाल निर्माण गर्ने ।
२. कोही पनि नागरिक घरपरिवार तथा समाजबाट परित्यक्त भई सडकमा आउन नपर्ने अवस्था निर्माण गर्न निरन्तर असल, चरित्रवान्, संस्कारित नागरिक निर्माणका लागि उत्प्रेरणात्मक, जनचेतनामूलक एवं परिणाममुखी रचनात्मक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने ।
यसै गरी केन्द्रको जानकारी पुस्तिकामा उल्लेख भए अनुसार मानवसेवा आश्रमले प्रदान गर्दै आइरहेका मानवीय सेवाहरू यस प्रकार रहेको छ–
१. बेसहारा सहयोगापेक्षी सडक आश्रित मानवहरूको अवस्था अध्ययन तथा विवरण सङ्कलन ।
२. उद्धार, औषधोपचार एवम् पालनपोषण ।
३. मन चिकित्सकीय सेवा ।
४. जीविकोपार्जन सम्बन्धी तालिम ।
५. पारिवारिक पुनर्मिलन ।
६. पारिवारिक परामर्श ।
७. अभिलेख तथा प्रतिवेदन ।
८. पारिवारिक पुनर्स्थापना हुन नसकेका बेसहाराहरूको दीर्घकालीन संरक्षण ।९. सरोकारवाला निकायहरूसँगको अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम एवम् मानवता प्रवर्द्धनका लागि उत्प्रेरणात्मक तालीम ।
यसै गरी यस संस्थाको आ.व.२०७७–०७८ को योजना निम्नानुसार भएको यस संस्थाको जानकारी पुस्तिकामा उल्लेख छ–
# काठमाडौँ, ललितपुर, भरतपुर, वीरगन्ज, पोखरा, विराटनगर महानगरपालिका एवम् गोरखा, लम्जुङ बाग्लुङ, रुपन्देही, कैलाली र सुर्खेत जिल्लालाई सहयोगापेक्षी सडकमानवरहित नगर घोषणा गराउन आवश्यक आधार तयार पारी घोषणाका लागि पहल गर्ने ।
# सतहत्तर वटै जिल्लामा सहयोगापेक्षी बेसहारा सडक मानवहरूको मानवोचित व्यवस्थापन तथा मानवता प्रवर्द्धनका लागि सेवा सम्पादन गर्न आवश्यक संयन्त्र निर्माण गर्ने ।
# उद्धार तथा पारिवारिक पुनर्मिलनका लागि हटलाइन हेल्प डेस्क र सात वटै प्रदेशमा प्रदेशस्तरीय उद्धार सेवा वाहन सञ्चालनमा ल्याउने ।
# मकवानपुरको हेटौँडामा निर्माणाधीन रहेको मानवसेवा आश्रमको मुख्य कार्यालयको भवन निर्माण सम्पन्न गरी फागुन ४ गते गृह प्रवेश गराउने ।
# चितवन, काठमाडौँ, पोखराको भवन निर्माण कार्य सम्पन्न गर्ने ।
# सात वटै प्रदेशमा गरी १८०० जनालाई सेवा दिन सकिने गरी संस्थाको क्षमता अभिवृद्धि गराउने ।
यी मध्ये के कति काम सम्पन्न भए अर्थात् के कति प्रगति भयो र के कति उपलब्धि हासिल भयो भन्ने कुराको लेखाजोखा भने हुन बाँकी नै छ । यसै गरी संस्थाको उद्देश्य बमोजिम सहयोगापेक्षी बेसहारा सडक आश्रित मानवमुक्त घोषणा भएका स्थानहरू यस प्रकार रहेको पाइन्छ –
# गोरखा नगरपालिका घोषणा: २०७४ पुस ५ गते ।
# मगन्ते मुक्त क्षेत्र: काठमाडौँस्थित पशुपति क्षेत्र परिसर: २०७४ चैत्र ४ गते ।
# हेटौँडा उप–महानगरपालिका वडा नं.९ घोषणा: २०७५ मङ्सिर ७ गते ।
# मकवानपुर जिल्ला घोषणा: २०७५ फागुन ४ गते ।
# बाग्लुङकालिका मन्दिर परिसर घोषणा: २०७६ साउन २१ गते ।
# पाल्ला तिनाउस्थित सिद्धबाबा मन्दिर क्षेत्र घोषणा र बुटवल न.पा.वडा नं. ३ स्थित सिद्घबाबा धाम क्षेत्र घोषणा: २०७६ असोज २७ गते ।
# भरतपुर महानगर घोषणा: २०७६ कार्तिक ९ गते ।
यस अभियानमा सहयोगी बन्न सकिने अवस्थाहरू यस प्रकार छन्: —
# भोजन सेवा, नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सकिने छ ।
# जन्मदिन, विवाह वर्षगाँठ, पितृहरूको पुण्य तिथि, संस्थाको वार्षिकोत्सव, पदोन्नति, पर्व लगायत विभिन्न अवसरहरूमा आफ्नो इच्छा अनुसारको सहयोग उपलब्ध गराउन सकिने छ ।
# बेसहाराको अभिभावक कार्यक्रम अन्तर्गत एक जना बेसहाराका लागि लाग्ने मासिक खर्च योगदान गरी बेसहाराको अभिभावक बन्न सकिने छ ।
# मासिक सहयोगी सदस्यता दिई मासिक रूपमा आफ्नो इच्छा अनुसारको नगद तथा जिन्सी सामग्री सहयोग उपलब्ध गराउन सकिने छ ।
# भवन निर्माण तथा संरचना निर्माणका लागि आवश्यक निर्माण सामग्री तथा नगद सहयोग उपलब्ध गराउन सकिने छ ।
‘सेवा नै धर्म हो’ भन्ने सत्य वचनलाई आत्मसात् गरेर यसलाई कर्म क्षेत्रमा उतार्न मानव सेवा आश्रमले गरेको मिहिनेत र पवित्र भावना कदर र प्रशंसायोग्य छ । नेपालमा मानव सेवा आश्रमको स्थापना २०६९ सालमा भएको हो । हेटौँडाबाट सुरु भएको यस आश्रमको प्रधान कार्यालय हेटौडामा छ । हालसम्म सातै प्रदेशका विभिन्न १६ जिल्लामा कुल २५ वटा शाखा विस्तार भइसकेको भनिएको यस आश्रमले खास गरी सडकमा बेवारिस भई रहेका सडक मानवहरूको उद्धार गरी आश्रममा आश्रय दिने गरेको पाइन्छ । गत वर्ष मात्र यस संस्थाले मेची–काली अभियान सञ्चालन गरी सडकमा बेवारिस अवस्थामा फेला परेका सबै उमेर समूहका अनाथ असहाय मानिसहरूको उद्धार गरी विभिन्न पायक पर्ने आश्रमहरूमा राखिएको बताइन्छ ।
कौशलटार केन्द्रबाट प्राप्त जानकारी अनुसार मुख्य कार्यालय मकवानपुरको हेटौँडामा रहेको यस यस आश्रमका हालसम्म विस्तारित शाखाहरूमा– चितवनको भरतपुर; काठमाडौँको सामाखुसी र नागार्जुन; ललितपुरको हात्तिवन र नागदह; गोरखाको गोरखा बजार; पर्साको वीरगन्ज; बागलुङको बाग्लुङ बजार; कास्कीको हेम्जा र छोरे पाटन; रुपन्देहीको बुटवल; लमजुङको बेँसी सहर; सुर्खेतको वीरेन्द्रनगर; कैलालीको धनगढी; मोरङको विराटनगर; भक्तपुरको कौशलटार; काठमाडौँको बुढानीलकण्ठमा उपसेवा केन्द्र; सर्लाहीको हरिवन; दाङको तुलसीपुर आदि गरी सातै प्रदेशका सोह्र जिल्लामा कुल २५ केन्द्र रहेको बताइन्छ ।
गत वर्ष यस केन्द्रले सञ्चालन गरेको मेची–काली अभियानपछि सडक मानवको उद्धार गरी यस आश्रमले हाल ८६६ जना विभिन्न उमेर समूहका अनाथ असहायहरूलाई आश्रय दिई आएको छ भने हालसम्म २००० भन्दा बढीलाई आ–आफ्नो घरमा पुनर्स्थापन गरिएको बताइन्छ । हालसम्ममा १३ जना भारतीय नागरिकलाई आफ्नो घरमा पुर्याएर जिम्मा लगाइएको छ भने तीन जना बङ्गलादेशी नागरिकलाई नेपालस्थित बङ्गलादेशी दूतावास मार्फत उनीहरूको देश पठाइएको बताइन्छ । मानवसेवा केन्द्रले हालको अवस्थामा विभिन्न केन्द्रहरूमा आश्रय दिइरहेका आश्रित मानवहरूको मिति २०७७ चैत्र २९ सम्मको जिल्लागत विवरण निम्नानुसार रहेको उक्त केन्द्रले बताएको छ—
यसरी मानवसेवा आश्रम, कौशलटारबाट प्राप्त विवरण अनुसार सर्लाहीमा ५६, वीरगन्जमा ४८, चितवनमा ६३, रुपन्देहीमा १४९, दाङमा ९, सुर्खेतमा ३७, धनगढीमा ६०, बाग्लुङमा ४५, पोखरामा ५८, लमजुङमा ३०, गोरखामा ४५, काठमाडौँमा ४५, ललितपुरमा ६३ र भक्तपुरमा ३८ जना गरी कुल ८६६ जना विभिन्न समूहका आश्रितहरू मानवसेवा आश्रममा आश्रित छन् ।
यस संस्थालाई कुल लागतको २० देखि २५ प्रतिशत रकम नेपाल सरकारबाट अनुदान प्राप्त हुने गरेको र बाँकी अन्य दाताहरूबाट प्राप्त हुने गरेको कौशलटार केन्द्रबाट जानकारी प्राप्त भएको छ । उक्त कौशलटार केन्द्रमा हाल ३ महिला तथा ३५ पुरुष आश्रितहरू रहेका छन् । केन्द्रका अनुसार उक्त कौशलटार केन्द्रमा हाल एक जना स्टाफ नर्स र एक जना पालेलाई मात्र सामान्य तलब दिएर राखिएको र बाँकी सबै जना स्वयंसेवक रहेको बताइयो ।
हामीले लगेको फलफूल तथा बिस्कुटका कार्टुनहरू आश्रमकी काव्या पोखरेलमार्फत आश्रमलाई हस्तान्तरण गर्ने काम भयो भने फलफूल वितरणको कार्य अनौपचारिक समारोहका साथ सम्पन्न गरियो । उक्त केन्द्रमा रहनुभएका विभिन्न आश्रित व्यक्तिहरूसँग पनि सामान्य भलाकुसारी गरियो । उहाँहरूमध्ये कोही घरविहीन र आफन्तविहीन हुनुहुन्थ्यो भने कोही घरबार भएर पनि सन्तानबाट अपहेलित भई घर छोडेर सडक मानव बन्न विवश हुनुभएको पनि पाइयो । मानव जुनी पाएर पनि मानव झैँ बाँच्न नपाएका यस्ता अनाथ असहायहरूलाई विभिन्न दयनीय अवस्थाबाट उद्धार गरी मानव सेवा आश्रमले ‘सेवा नै धर्म हो’ भन्ने सत्यलाई स्थापित गरेको पाएर भावविभोर भयौँ र सकेको खण्डमा विभिन्न किसिमले सहयोग गर्ने अभिलाषाका साथ त्यहाँबाट बिदा भयौँ हामी ।
मानवसेवा महत्त्वपूर्ण र पवित्र कार्य भएकोले आ–आफ्नो क्षमता अनुसार आर्थिक, भौतिक, नैतिक सहयोगका लागि सहयोगी हातहरू अगाडि बढ्नु मानवीय धर्म हुन आउँछ । मानवले मानवको सेवा गर्नु मानवीय कर्तव्य पनि हो । धर्म कमाउने नाउँमा सम्पन्न पण्डित पुरोहितहरूलाई मन फुकाएर दान दिनुभन्दा दुःखी, दरिद्री, निःसहाय, परिवारत्यजित, सहयोगापेक्षी मानवहरूको सेवामा यथाशक्य मुट्ठी फुकाउनु नै बढी श्रेयष्कर हुन्छ र वास्तविक धर्म पनि यही हो । हाम्रो हिन्दु धर्मको सार पनि हो– ‘परोपकार पूण्याय, पापाय परिपीडनम्’ । परोपकार नै धर्म को सार भएकोले यसलाई आत्मसात् गर्दै मानवीय मूल्य र मान्यतालाई स्थापित गर्न परोपकार धर्मको पालना गर्नेतर्फ सबैको ध्यान जान जरुरी देखिन्छ । यही आग्रहका साथ आजको कलम यहीँ बिसाउने अनुमति माग्दछु । जय मानवसेवा ।
२०७८ वैशाख ११ गते १२:३९ https://www.brtnepal.com मा प्रकाशित गणेश घिमिरे ‘मार्मिक’ काे सेवा अनुभव लेख यहाँ सङ्ग्रह गरिएको हो ।