सुर्खेत । मानवसेवा आश्रमकाे कर्णाली प्रदेशस्तरीय भवनकाे निर्माणार्थ सुरू भएकाे महायज्ञमा मंगलबार ६३ लाखभन्दा बढी रकम दान स्वरूप संकलन भएकाे छ । महायज्ञमा एकैदिन ६३ लाख १९ हजार १ सय १३ रूपैयाँ संकलन भएकाे मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनु भएकाे हाे ।
महायज्ञमा संस्थागत तथा व्यक्तिगत रूपमा १९४ जनाले दान गर्नुभएकाे हाे । मंगलबार आलोपालो बचत तथा ऋण सहकारी र ग्रामीण जागरण बचत तथा ऋण सहकारीद्वारा सहयाेग प्राप्त भएकाे छ भने त्यस्तै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र कर्णाली प्रदेश लोकसेवा आयोग सदस्य उहाँकी श्रीमती वसन्ती शाहीले महायज्ञमा व्यक्तिगत रूपमा दान गर्नुभएको छ ।
मानवसेवा आश्रम कर्णाली प्रदेशस्तरीय भवन निर्माणार्थ उहाँहरूले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने काममा टेवा पुर्याउन पर व्यक्ति ५१ हजार १ सय ५५ रुपैयाँ सहयोग दरले १ लाख २ हजार ३ सय १० रुपैयाँको सहयोग गर्नुभएको हो ।
इन्द्रेणी फाउन्डेसनले सुर्खेत सेवाकेन्द्रको भवन निर्माणार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गरेको छ । वीरेन्द्रनगर नगरपालिका-५ सुर्खेत निवासी लिलाराम सुवेदी र ललिता सुवेदीले भवन निर्माण कार्यमा सहजता प्रदान गर्नको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ अर्पण गर्नुभएको छ।
वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतमा रहेको सक्षम महिला समूहले भवन निर्माण कार्यका लागि ५१ हजार ११ सय १ रूपैयाँ सहयाेग प्रदान गरेकाे छ ।
त्यस्तै पत्रकार दिल भूषण पाठकले महायज्ञमा सहभागीका क्रममा मानवसेवाले सामाजिक सदभाव बढाउने बताउनु भएको छ ।मंगलवार महायज्ञमा सरिक हुनु भएका पाठकले मानवीय कार्यमा सहयोग गर्न महायज्ञमा उपस्थित महानुभावहरूलाई कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले मानवता प्रवर्द्धनमा सबै जना लागिपर्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।
र वीरेन्द्रनगर नगरपालिका ११ नम्वर वडा कार्यलयले १५ लाख ५१ हजार दिने प्रतिबद्धता गरेकाे छ ।
मानवसेवा आश्रमले सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि मंसिर २१ शुक्रवारदेखि श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गर्दै आएको छ । महायज्ञ मंसिर २८ मंसिरसम्म चल्नेछ । महायज्ञ सुर्खेतको वीरेन्द्रनगर खुलामञ्चमा सञ्चालन भइरहेको छ । मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो ।
आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले १८ हेक्टरभन्दा बढी जग्गा प्रदान गरिएकाे छ । महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने र प्रत्येक दिन ५ हजार दर्शकहरूले अवलोकन गर्ने आयाेजक समितिले जनाएकाे छ ।
मानवसेवा आश्रम खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।