सुर्खेत । कर्णाली प्रदेशस्तरीय मानवसेवा आश्रमको भवन निर्माणार्थ महायज्ञ सुर्खेतको वीरेन्द्रनगर खुलामञ्चमा सञ्चालन भइरहेकाे छ । महायज्ञको चौथो दिन सोमवार मात्रै २८ लाख ४० हजार ६७५ बराबरको रकम सङ्कलन भएको छ । सोमवार दिनभर दुई वटा निकाय र ८३ जना दाताहरुले दान दिएका छन् ।
सल्यानको दार्मा गाउँपालिकाले आश्रमको दुईवटा कोठा निर्माण गरिदिने भएको छ । गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले गाउँपालिकाको तर्फबाट दुईवटा कोठा निर्माणका लागि १३ लाख २ हजार २३० रुपैयाँ दिने घोषणा गरे । उनी महायज्ञस्थलमै आएर उक्त घोषणा गरेका हुन् ।
महायज्ञको चौथौँ दिन गाउँपालिकाले आश्रमको निर्माण सेवामा सहजता प्रदान गर्नको निमित्त मानवसेवा आश्रमको सहयोगापेक्षी सडकआश्रित मानवहरूको मनोवोचित व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा सबैले सकेको सहयोग गर्न पनि अपिल गर्नुभएको छ । अध्यक्ष केसीले सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेको भन्दै प्रशंसा गर्दै यस कार्यले स्थानीय सरकारलाई प्रेरणा मिलेको बताउनुभयो । साथै मानवीय कार्यमा सधैँ हातमा हात काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
यस्तै ग्रीन ल्यान्ड एकेडेमी सुर्खेतले ५१ हजार ५ रुपैयाँ दान गरेको छ । दान गर्ने दाताहरुमा कतिपयले ६ लाखसम्म पनि गरेका छन् ।
महायज्ञ मूल आयोजक समितिका संयोजक केसीकाअनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका११ स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले १७ हेक्टरभन्दा बढी जग्गा दिएको छ ।
उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो । अहिले मानवसेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ ।
साथै स्वास्थ्य शिवरमा साेमबार हाड जोर्नी रोग विशेषज्ञ डा.सैयद सद्दामको स्वास्थ्य टिम नेपालगन्जबाट निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न महायज्ञमा उपस्थित हुनुभएको हो ।
आज दाताहरूलाई हौसला र उत्प्रेरणा जगाउन हास्य कलाकार किरण केसी र शिवहरि पौडेलद्वय महायज्ञमा उपस्थित हुनुभएकाे हाे । र वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतस्थित एसओ एस हर्मन माइनर स्कुल र सुर्खेत बाल क्लबका विद्यार्थीहरूले खाजा कटौती गरी १३ हजार ५ सय ६५ रुपैयाँ महायज्ञमा दान गरेका छन् ।
महायज्ञको शुभारम्भ भएसँगै, मानवता प्रवर्द्धनका कार्यक्रममा सोमबार वीरेन्द्रनगरस्थित रहेको विभिन्न स्कुलहरू जस्तै साउथ एसियन स्कुल, माउन्ट एभरेस्ट उच्च माध्यमिक विद्यालय, सरस्वती मा.वि., उत्तर गङ्गा कर्णाली मा.वि., श्री प्रभात मा.वि., विद्या ज्योति निकेतन, सेन्ट म्यारिज स्कुल, श्री हरि डिल भूमि मा.वि., जनजागृति मा.वि., हार्भेष्ट मुन सेकेण्डरी स्कुलबाट १ हजारभन्दा बढी विद्यार्थी र शिक्षकहरूको सहभागितामा मानवता प्रवर्द्धनका कार्यक्रम समेत सञ्चालन भएको थियो ।
मंसिर २१ शुक्रवारदेखि सुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २८ मंसिरसम्म चल्नेछ ।