झापा । प्रधानमन्त्री के.पी शर्मा ओलीबाट मानवसेवा आश्रम शाखा कार्यालय झापाको आज समुद्घाटन हुँदै छ । मानवसेवा आश्रमको १९ औँ शाखा कार्यालय झापाको वृहत् गुरुयोजनाको शिलान्यास प्रधानमन्त्री के.पी शर्मा ओली र प्रथम महिला राधिका शाक्यको प्रमुख उपस्थितिमा मेचीनगर–४, झापा (मानवसेवा आश्रमको प्राङ्गण) मा हुने भएकाे हाे ।
आश्रमको शाखा कार्यालयका लागि झापा मेचीनगरस्थित रामबहादुर प्रधान तथा परिवारले सेवा सहजीकरण र सुरुवातका लागि २ बिगा ५ कट्ठा जग्गा योगदान गर्नु भएको थियो । सोही जग्गामा मानवसेवा आश्रम शाखा कार्यालय झापाको समुद्घाटन हुने भएको हो । गत साउन महिनाबाट झापामा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरी आश्रय दिँदै आएको छ । यस सेवाकेन्द्रमा हाल ४८ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु आश्रित हुनुहुन्छ ।
वि.सं. २०६९ साल भाद्र १३ गते मकवानपुर, हेटौँडामा औपचारिक रूपमा मानवसेवा आश्रमको कार्यालय स्थापना गरी आश्रमले मानवताको प्रवर्द्धनको अभियान निरन्तर चलाउँदै आइरहेको छ । देशभर नै खुला आकाश मुनी रात बिताउन विवश बेसहारा, असहाय, तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्दै राष्ट्रलाई नै २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि आश्रम निरन्तर मानवीय सेवामा समर्पित हुँदै आइरहेको छ ।
यस आश्रमले स्वयम् आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर र अनाथ मानवहरू)को हालसम्म १०,८२७ जनाको उद्धार गरिसकेको छ । ती मध्ये ५ हजारजना भन्दा बढीको सामुदायिक तथा पारिवारिक पुनर्मिलन र पुनर्स्थापना गराइसकेको छ । १३७२ जना ब्रम्हलिन हुनु भएको छ । मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका १८७० जना मानवसेवा आश्रमका मुलुकभर रहेका २५ वटा सेवाकेन्द्रमा आश्रित गराई संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको छ ।