सुर्खेत । मानवसेवा आश्रम सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको तयारी पूरा भएको छ । महायज्ञ मंसिर २१ गते शुक्रवार देखि २८ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ । तसर्थ शुक्रवार(भोलि) शुभारम्भ हुने महायज्ञका लागि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा कथा वाचक तथा गुरु भास्कर कमलनयन गौतम महायज्ञ स्थलमा बिहीबार नै पुगिसक्नु भएको छ ।
शुक्रवार आरम्भ हुने महायज्ञका उद्घाटनका लागि बिहान ९ बजे बुलबुले उद्यानबाट बाजागाजा, सांस्कृतिक झाँकी, शंखनाद, भजनकिर्तन सहित विशाल शोभा कलश यात्रा हुने आश्रमले जनाएको छ । प्रमुख आकर्षक विषय त महायज्ञमा कथा वाचक तथा गुरु भास्कर कमलनयन गौतमले मानवता प्रवर्द्धनका लागि निःशुल्क कथा वाचन गर्नु हुनेछ ।
८ दिन चले महायज्ञ अवधिभर महायज्ञमा कर्णाली प्रदेशमा भएका धार्मिक एवम् पर्यटकीय स्थलहरूको समेत फोटो प्रदर्शनी गरिनेछ । सहयोग जुटाउने र महायज्ञको सफलताका लागि २५ वटा उप–समितिहरू खट्ने छन् । यी समितिहरूले सेवा र कार्यक्रमको सहजीकरणको लागि कार्य गर्नेछ । महायज्ञमा प्रदेश र जिल्लाका प्रमुख एवं प्रतिनिधिहरूलाई संरक्षक र अभिभावक परिवारमा मनोनयन गरिएको छ ।
महायज्ञ अवधिभर प्रत्येक दिन बिहान ५–७ बजेसम्म योगको कार्यक्रम आयोजना गरिनेछ । ७–९ बजेसम्म प्लस टु तहका विद्यार्थीहरूलाई र ९–११ बजेसम्म ८, ९, १० कक्षाका विद्यार्थीहरूलाई योग, प्राणायाम, ध्यानको महत्वको बारेमा मानवता प्रवर्द्धन प्रशिक्षण दिइने छ । ११ देखि बेलुकी ४ बजेसम्म महायज्ञमा कथा वाचन हुनेछ । ४ बजेपछि साँझ ८ बजेसम्म स्थानीय तथा बाहिरबाट आएका कलाकारबाट भजनको गायन कार्य हुनेछ ।
महायज्ञ अवधिभर स्वास्थ्य शिविरको
महायज्ञ अवधिभर स्वास्थ्य शिविरको आयोजना हुने समेत भएको छ । जसमा वरिष्ठ फिजिसिएन डा. के.एन पौडेललगायतको टिमबाट वरिष्ठ हाड जोर्नी रोग डा.रूपक कँडेल, डा.किशोर विष्ट, डा.शुभ श्रेष्ठलगायतको टिमले स्वास्थ्य सेवा दिने भएको छ भने आयुर्वेद अस्पतालबाट डा. शङ्कर रिजालको टिमलगायतबाट निःशुल्क स्वास्थ्य परीक्षण हुने आयोजकले जनाएको छ
महायज्ञका लागि मानव सेवा आश्रमका ७ प्रदेशका १९ जिल्लामा रहेका २५ सेवा केन्द्रबाट ३० जना अभियन्ता खटिरहेका छन् । महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने र प्रत्येक दिन ५ हजार दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ । आश्रमको सुर्खेत सेवा केन्द्रले २०७५ सालको माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित भाडाको घरमा सेवा शुभारम्भ गरेको थियो । भाडाको घरबाट सेवा दिँदै आइरहेको सुर्खेत सेवा केन्द्रले हालसम्म ४ सय १५ भन्दा बढी सहयोगापेक्षी मानवहरूको उद्धार गरिसकेको आश्रमले जनाएको छ ।
दातालाई सम्मान कार्यक्रम
महायज्ञ मूल आयोजक समितिकाअनुसार ५०० देखि १ करोड रुपैयाँसम्मको योगदान गर्नेलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ । महायज्ञमा १ करोड रुपैयाँ योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाउन्डभित्र निर्माण हुने कुनै पनि ब्लकको नामकरणसहित दाताको अर्ध कदको सालिक निर्माण गरिने जनाएको छ । ५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ । ३१ लाखसम्म योगदान गर्नेहरुकोे नामबाट आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिनेछ ।
कलाकारहरूबाट गीत, भजन
महायज्ञमा कथा प्रवचनसँगै ख्याति प्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरूबाट गीत, भजन, देव लीला नृत्यलगायतका विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरिनेछन् । यसै गरी कलाकार किरण केसी, शिव हरी पौडेल, वरिष्ठ पत्रकारहरू टिकाराम यात्री, राजेन्द्र बानियाँ, दिल भूषण पाठक, डाक्टर सन्दुक रुइत, कलाकार हरिवंश आचार्य, कृष्ण कँडेल लगायतका व्यक्तिहरू पनि सहभागी रहनेछ