रुपन्देही । बुधवार मानवसेवा आश्रम शाखा कार्यालय रुपन्देही तिलोत्तमा सेवाकेन्द्रले १ जना बालिकाको उद्धार गरेको हाे । अन्दाजी १३ वर्ष उमेरकी उहाँ बोल्न नसक्ने अवस्थामा सडकबाट अलपत्र अवस्थामा फेला पर्नुभएकाे हो । उहाँलाई सिद्धार्थनगर नगरपालिका भैरहवा वेलहियाबाट उद्धार गरिएको हो । उहाँको परिवारको भने खोजी भइरहेको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्पसहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।