सुर्खेत । मानवसेवा आश्रमले सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो ।
महायज्ञ मङ्सिर २१ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा सञ्चालन हुनेछ । जसमा भागवत भास्कर कमलनयनज्यूले कथा वाचन गर्नुहुने कार्यक्रम रहेको छ । आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा प्रदान गरेको थियो । महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि भने ८ देखि १० करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक डा. नवराज केसीले बताउनु भएको छ ।
मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रको भवन निर्माणका लागि आयोजना हुने महायज्ञको लागि तीव्र रुपमा प्रचारप्रसार कार्य अघि बढिरहेको छ । महायज्ञका लागि निमन्त्रणा कार्ड, पर्चा पम्प्लेट बाँड्ने र दाता पहिचान गर्ने काम सक्रियतापूर्वक भइरहेका छन् ।
२०७५ साल माघ १८ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा मानवसेवा आश्रमको सेवा केन्द्र शुभारम्भ भई हालसम्म ४ सय ६ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन हुनुभएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको कर्णाली प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेत सेवाकेन्द्रको आफ्नै भवन निर्माण गर्ने लक्ष्य राखी महायज्ञ आयोजना गर्न लागिएको हो । यही मङ्सिर २१ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा महायज्ञ सञ्चालन हुनेछ ।
मानवसेवा आश्रम देशभर नै खुला आकाश मुनी रात बिताउन विवश बेसहारा, असहाय, तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्दै राष्ट्रलाई नै २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि २०६९ सालदेखि निरन्तर मानवीय सेवामा समर्पित हुँदै आइरहेको छ । हालसम्म १० हजार ८ सय जनाभन्दा बढी सहयोगापेक्षी बेसहारा सडकआश्रित मानवहरूको उद्धार गरी मानवोचित व्यवस्थापन गराई सकेको यस आश्रमले हात सात वटै प्रदेशको १९ जिल्लाहरूमा २५ वटा सेवा केन्द्र विस्तार गरी मानवता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको एक गैरनाफामूलक संस्था हो ।
महायज्ञ किन ?
– मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रको भवन निर्माण गरी सहयोगापेक्षी बेसहारा मानवहरूलाई सेवा प्रदान गर्न ।
–सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको आधार तय गर्दै आम सर्वसाधारणमा मानवता प्रवर्द्धन गर्न ।
महायज्ञमा के के छन् कार्यक्रम ?
– मङ्सिर २१ गते बिहान ९ः०० बजे बाजागाजा, सांस्कृतिक झाँकी, शंखनाद, भजन कीर्तन सहित विशाल शोभा कलश यात्रा ।
– प्रत्येक दिन बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म योग शिविर तथा ७ः३० बजेदेखि ९ः३० बजेसम्म विद्यार्थीहरूमाझ सकारात्मक सोच, मानवता प्रवर्द्धन एवम् व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रम हुने ।
– प्रत्येक दिन बिहान ११ः ०० देखि ४ः०० बजेसम्म प्रसिद्ध कथा वाचक भागवत भास्कर कमलनयन गौतमबाट सङ्गीतमय श्रीमद् भागवत कथा वाचन ।
– ख्यातिप्राप्त कलाकारहरूबाट गीत, सङ्गीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू ।
– पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप, पाठ, परायण आदि ।
– प्रत्येक दिन साँझ ५ः३० बजेदेखि स्थानीय कलाकाहरुद्वारा भजन कीर्तन र नृत्य ।
– सत्यनारायण, रुद्री शालिग्राम पूजा ।
– गीता पाठ, चण्डी पाठ, शनि स्तोत्र पाठ एवम् स्वस्ति, शान्ति लगायतका कार्यहरू ।