सुर्खेत । महायज्ञमा कथा वाचकलाई संकलन भएको दानको कति प्रतिशत दिनुपर्छ ? तर यसको उत्तर सुन्नु भयो भने तपाईँ पनि मानवसेवा र मानवताको पक्षमा रुचि राख्नु हुनेछ । मानवसेवा आश्रम सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञमा कथा वाचक तथा गुरु भास्कर कमलनयन गौतमले दक्षिणा पारिश्रमिक नलिने र आफ्नो कथा वाचन विशुद्ध मानव सेवाका लागि हुने बताउनु भएको छ । आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनका लागि सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रका लागि भवन आवश्यकता महसुस गरी उक्त भवन निर्माणका लागि यही मङ्सिर २१ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा महायज्ञ आयोजनाको तयारी गरिरहेको छ ।
गुरु गौतमको परोपकारी कार्य यो महायज्ञमा मात्र होइन, विगतमा मानवसेवा आश्रमले आयोजना गरेका लमजुङ होस वा अन्य क्षेत्रमा गरिएका महायज्ञमा समेत मानवताको महाअभियानका लागि भन्दै आश्रमले सप्रेम अर्पण गरेको दक्षिणाको खाम आश्रमलाई नै फर्काइदिनु भएको थियो । यसले उहाँ परोपकारी मानवतावादी महायज्ञ कथा वाचक गुरुका रुपमा अगाडि हुनुहुन्छ । मानवसेवा आश्रमको आयोजनामा ५ वटा यज्ञको प्रमुख वाचकको भूमिका गुरु गौतमले वहन गरिसक्नु भएको छ ।
आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका-११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ वि घा जग्गा प्रदान गरेको छ । यही जग्गामा सहयोगापेक्षी सडकआश्रित मानवको संरक्षणका लागि भवन निर्माण गर्न लागिएको हो । महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि भने ८ देखि १० करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने सङ्कल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।