काठमाडौं । मानवसेवा आश्रमले सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो ।
महायज्ञ मंसिर २१ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्चमा सञ्चालन हुनेछ । जसमा भागवत भाष्कर कमलनयनज्यूले कथावाचन गर्नुहुने कार्यक्रम रहेको छ । आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका-११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ वि घा जग्गा प्रदान गरेको थियो । महायज्ञ मूल आयोजक समितिका संयोजकमा डा. नवराज केसीका अनुसार महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि भने ८ देखि १० करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।