काठमाडौँ । मानवसेवा आश्रमले बुधवार २ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको छ भने एक जनाको पुनर्मिलन गराएको छ । यस दिन आश्रमका लागि विभिन्न सेवाकेन्द्रमा आश्रय लिइरहेका सहयोगापेक्षी मानवहरूको सेवाका लागि ३ लाख २७ हजार ८ सय ८१ रुपैयाँ सेवा योगदान भएको छ ।
त्यसै गरी २ लाख ४६ हजार ६ सय १८ रुपैयाँ बराबर रकमको सेवा सदुपयोग भएको छ । यस दिन भोजन सेवा अन्तर्गत खाजा सेवा २ वटा र ११ वटा भोजन सेवा वितरण भएको छ । त्यस्तै जिन्सी सामग्री सहयोग १ लाख ८८ हजार रुपैयाँ बराबरको सेवा योगदान उपलव्ध भएको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।