बच्चादेखि नै अध्ययनशील स्वभाव, तेज दिमाग, गणित बिषयका जुनसुकै प्रश्न र साध्यलाई शिक्षकले भन्दा पहिला हल गर्ने दुर्लभ क्षमता, चितवनको माढी नगरपालिका-६, स्याउली बजारका दिपक तामाङको आफ्नो जीवनका प्रश्नमा गणितका ती शुत्रहरु कामयावी हुन्थे भने सायद उनी तन्नेरी वयमै मनोरोगी बन्दैनथे होला । पढेर आफ्नो पहिचान र भविष्य बनाउने सोचमा रहेका दिपकले जीवनको उद्देश्य र गन्तव्य पहिल्याउन नपाउदैँ उनका रहरहरु १८ बर्षको तन्नेरी उमेरमा नै घरको चार भित्तामा कैद हुन पुग्यो ।
१२ कक्षा पढ्दा-पढ्दै आफ्नै घरमा कैद
दिपकको समस्या जन्मजात थिएन । यद्यपि, अरु कारण के थियो ? हाल सम्म पनि पहिचान हुन नसकेको परिवारका सदस्य बताउँछन् ।
उनले १२ कक्षा सम्म पढे । विद्यालयमा अध्ययनरत्त रहँदा नै मानसिक समस्या देखिएको आमा हिरामाया तामाङ बताउँछिन् । ‘छोराको पढाइ प्रति एकदमै लगाव थियो तर, धेरै गहिरो सोच्ने, केही गर्नुछ भन्ने हुटहुटी र एकहोरो पढाईले मानसिक समस्या भयो भन्ने लाग्छ । उपचारका लागि देशका बिभिन्न अस्पताल लगे पनि उपचार सम्भव नभएकाले आजित भयौ,’ हिरामायाले भनिन् । आर्थिक अवस्था कमजोर भए पनि ऋणधन गरेर राम्रो होला भनेर लाखौं खर्चेर गरिएको प्रयास पनि बिफल भयो ।
मनोरोग बढ्दै गए पछि २ वर्ष ५ महिना सुधार केन्द्रमा राखियो । त्यसबाहेक चितवन मेडिकल अस्पतालमा पनि बर्षाैसम्म उनलाई उपचारका लागि राखियो तर उनको स्वास्थ्यमा केही सुधार आउन सकेन । उपचारको लाखौँ प्रयासका बाबजुद मनोरोग निको हुनुको साटो बल्झिँदै गएपछि तामाङलाई एक्लै छोड्ने परिवेश समेत बनेन । छरछिमेकका सामान फुटाउने, तोडफोड गर्ने, मानिसलाई आक्रमण गर्ने, घरका झ्यालढोका फोड्न थाले । त्यसपछि दिपकका अनगिन्ती सपना र रहरहरु मनोरोगसँगै घर भित्रै कैद हुन पुग्यो । र झनै आक्रामक बन्दै गए पछि बाध्य भएर परिवार घरको एक कुनामा थुन्न बाध्य भए ।
दिशापिसाब लत्पतिएको त्यो शरीर
भोक, तिर्खा र बाह्य संसारको अनुभूति गर्न नपाएर पशुवत जीवन बाँच्न अभिसप्त दिपक तामाङको स्वास्थ्य र भविष्यका बारेमा परिवार, अभिभावक चिन्तित त थिए । तर, घरकै कोठामा थुने राख्नुको बिबशतामा कठोरतापूर्वक उभिनुको तात्कालीक अरु विकल्प पनि भएन सायद ।
कुनै उदाउँदो उमेरको युवा घर भित्रै कैद भइरहेको खबर भगवान होइन, भगवानरुपी मानवीय संवेदनाले ओतप्रोत मानिसहरुको नजर र कान सम्म पुग्यो । एक कान, दूई कान मैदान हुँदै मानव आश्रमका अभियन्ता सम्म यो सूचना पुगे पछि उनी आफ्नै घरबाट २ वर्ष ५ महिना पश्चात ‘थुना मुक्त’ भए ।
चितवन भरतपुर स्थित दिपकको घरमा आश्रमको टोलीले २०८० साल असार ७ गते उद्धार ग¥यो । त्यसबखत न त उनको आङमा एकसरो कपडा थियो, न त बस्नको लागि ओछ्यान नै । मझेरीमा आफैले गरेको दिसापिसाब लत्पतिएको अवस्थामा गोठको गाइबस्तु, खोरको सुँगुर, बंगुर जस्तै फोहोरको आहालमा थिए । त्यहीबाट उनको उद्धार गरिएको मानव सेवा आश्रमका उपत्यका संयोजक निता केसी बताउँछिन् ।
आश्रम आगमन पछि चामत्कारिक परिवर्तन
आश्रम प्रवेशको सुरुवातका दिनमा दिपकको आक्रामक क्रियाकलापले मानव सेवा आश्रमका अभियन्ता र सेवाकर्मी पनि हैरानी खेपे । अरुले भनेको कुरा नसुन्ने, एकोहोरो स्वभाब र आफ्ना समिपमा भएका सामाग्रीको तोडफोड गर्थे । उनको नजिक जान हर कोही डराउँथे ।
दिपकको उद्दार सँगै परिवारको एकखालको ‘बोझ’ हट्यो भने आश्रममा दायित्व थपियो । यही कारण आश्रमका अभियन्ता उनको तन्नेरी जीवनमा ल्याउन सकिने स्वास्थ्य सुधारका सम्भाव्य पहल प्रयत्न गर्न थाले ।
मानसिक समस्या भएकाले आश्रम प्रवेश पश्चात उहाँको क्रियालापलाई नियाल्दै आवश्यक मनोपरामर्श दिईयो । यसका साथै उचित औषधोपचार, खानपानमा विशेष ध्यान र स्वाध्याय लगायत मनोमञ्जको गतिविधीमा समेत उहाँलाई सहभागी गराईयो ।
के कसरी सुधार ल्याउन सकिएला ? भन्नेमा निरन्तरको प्रयास सहित सेवारत रहिरहे । आश्रमको छहारी र औषधोपचार पश्चात मानव सेवा आश्रम प्रवेशको २ महिनाबाटै उनमा आमुल परिवर्तन देखा पर्न थाल्यो । शारीरिक रुपमा समेत उनी फुर्तिलो बन्दै गए । उनको स्वभावमा विन्रमता आउन थाल्यो । बाल्यअवस्था देखि नै अध्ययनशील स्वभावका उनी आश्रमको बसाइँको ४ महिना देखि पुस्तक पढ्न सक्ने भए । आश्रमका सबै जनासँग घुलमिल हुने र आफुले सक्ने सेवामा आश्रममा साथ समेत दिन थालेपछि आफुहरुलाई समेत ठुलो खुशी र उत्साह मिलेको आश्रमका उपत्यका संयोजक निता केसीको भनाई छ ।
जिउँदै मरितुल्य छोरा सुध्रेर घर फर्के पछि…
चौतर्फी अस्पताल देश देशावर डुलाउँदा पनि सुधार नभए पछि आफ्नै परिवारका सदस्यले निको हुने आशा मारिसकेका थिए । तर, आश्रम दिपकका लागि यस्तो पवित्र जीवन दान दिने स्थल बन्यो, जहाँ कोठामा कैद भइरहेको जीवनबाट मुक्त मात्र होइन, स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै आयो । दिपकको अवस्थामा आएको परिवर्तनले आश्रमका अभियन्ता सबैलाई चमत्कार भएको महशुुस भइरहेको थियो । उनले आफुमा आएको परिवर्तनसँगै घर फर्कने चाहना देखाउन थाले ।
जब दिपककै चाहना बमोजिम पारिवारिक पुर्नमिलनको लागि करिब ९ महिना पछि उनी घर पुगे, तब छोराको परिवर्तित जीवन देखेर आमा भावविह्वल बन्न पुगिन् । जिउदैँ मरितुल्य जीवन बिताउन बाध्य भएको छोरा केही समयको अन्तरालमै आश्रमको सहयोगमा परिवारको आशाको दियो बनेर उदाएको देख्दा सपना जस्तो लागेको आमा हिरामाया तामाङले बताइन् । ‘छोरा घर फर्किएर आउँदा म त आँशु थाम्नै सकिन, एकहोरो आँखाबाट आँशु र मनबाट भक्कानो फुटेर आयो’, उनले भनिन्, ‘घरमा कति गर्दा पनि सुधार नभएको छोरा आश्रममा केही समयमै सुधार भएर घर फिरे पछि हामी असाध्यै खुशी छौ, अब राम्रो हुँदै जानेछ । दिपकको आश्रम बसाइँको ९ महिनापछि पारिवारीक पुर्नमिलन भएको आश्रमले जनाएको छ ।
आश्रमका अभियन्तामा पनि उत्साह र खुशी
वि.स २०८२ भित्र नेपालको सडकलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउने संकल्प मानव सेवा आश्रमको छ । यसका लागि नेपालभर सातै वटा प्रदेशमा २४ वटा सेवा केन्द्र सञ्चालन गरी मानवीय सेवामा समर्पित छ । जसमा २ सय भन्दा बढि मानव सेवामा प्रतिबद्ध र समर्पित अभियान्ताले यस्तै पशुवत जीवन बाँच्न बाध्य भएका व्यक्तिहरुको जीवन रुपान्तरण र परिवर्तनलाई आफ्नो सफलता मान्दै आएका छन् । दिपक तामाङको अवस्थामा आएको परिवर्तनले अभियन्ताहरुमा खुसीको सिमा नै थिएन । आश्रमको केही महिनाको बसाइँसँगै उहाँको अवस्थामा आएको परिवर्तन, नयाँ जीवन पाउदाँ मानवीय सेवा र आफ्नो कार्यप्रति थप गर्वको महसुस भएको केसीले कथालिकासँग बताइन् ।
शारीरिक तथा मानसिक रुपमा कमजोर भएर आफ्नै घरपरिवारबाट हेलत्वको जीवन बिताउन विवश भई सडकमा पुगेका जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई आश्रमले सेवा दिने गरेको। छ । आश्रममा बिशेषगरी घरबार र परिवारविहीन भई सडकमा अति कष्टप्रद जीवन बिताइरहेकालाई उद्धार र त्यसपश्चात उहाँहरुको मनोभावना बुझी आवश्यक मनोपरामर्श, सम्बन्धित क्षेत्रको विशेषज्ञद्धारा चेकजाँच, शारीरिक व्यायाम तथा भजनकृतन लगायतमा मनोमञ्जन प्रदान गरिने केसीको भनाई छ । ।
आश्रमले हालसम्म १० हजार भन्दा बढि मानवको उद्धार, औषधोपचार, संरक्षण र पारिवारीक पुर्नमिलनमा अग्रसर रहदै आएको मानवसेवा आश्रमले मानविय सेवा प्रवाह गर्दै आएको छ ।