३० कार्त्तिक, काठमाडाैँ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा ३३ दिनकाे अवधिमा दुई सय ३६ सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।
उद्धार हुनेहरुमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालककाे सख्या रहेकाे छ ।
उद्धार गरिएकाहरुमा कोसी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी कूल ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कूल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र नौ महिला गरी कूल ४९ जना, कर्णाली प्रदेशबाट दुई पुरुष र एक महिला गरी कूल तीन जना र सुदूरपश्चिम प्रदेशबाट छ पुरुष र दुई महिला गरी कूल आठ जना रहेका छन् ।
उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातैवटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा सहभागी भएका थिए ।
३३ दिनकाे उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा यात्राको औपचारिक उदघाट्न गर्नुभएकाे थियाे भने समापन पनि प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मंसिरर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा समापन हुनेछ। उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएकाे हाे ।
यसअघि पनि आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न गरिसकेको छ। यस आश्रमले स्वयं आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानवहरू) हालसम्म १० हजार सात सय ६४ जनाको उद्धार गरिसकेको छ। तीमध्ये चार हजार दुई सय १६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनःस्थापना गरिसकेको छ। त्यस्तै आठ सय ७७ जनाको सामुदायिक पुनःस्थापना गरिएको छ।
सरकारले आव २०८१ र ८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्प गरिनुले यस संस्थाको लक्ष्य २०८२ घोषणाको लागि निकै ठूलो आधार निर्माण भएको आश्रमका संस्थापक अध्यक्ष अधिकारी बताउँछन्।
विसं २०६९ मा मकवानपुर, हेटौँडामा औपचारिक रूपमा स्थापना भएको मानवसेवा आश्रमले सातवटै प्रदेशका १९ जिल्लाका २५ सेवा केन्द्रहरुमार्फत बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर र अनाथहरुको उद्दार गरी उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ।
मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका एक हजार नौ सय छ जना संस्थाको २५ वटा सेवा केन्द्रहरुमा आश्रित गराई स्वास्थ्य सेवा दिलाइरहेको छ भने हालै उद्धार गरिएका दुई सय ३५ जना सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमका १५ वटा सेवाकेन्द्रमा संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको आश्रमले जनाएको छ।