१५ कार्त्तितक, अत्तरिया । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार ३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार
यात्रा सुरु भएको हो ।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा बिहीबार बर्दियाको बारबर्दिया नगरपालिका– ७ बाट १ जना र कैलालीको घोडाघोडी नगरपालिका–२ बाट १ जना, गौरीगंगा नगरपालिका–८ बढैपुरबाट १ जना गरि ३ जना पुरुषको उद्धार गरिएको हो ।
बिहीबार उद्धार हुनुभएका ३ जनालाई आजै मानवसेवा आश्रम कैलालीको धनगढी सेवाकेन्द्रमा गृहप्रवेश गराइनेछ ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा बिहीबार कैलालीसम्म आइपुग्दा १४५ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ । १११ पुरुष र ३४ महिलाको सङ्ख्या मध्ये २ बालिका र १ बालक पनि रहेका छन् ।
बिहीबार जानकी गाउँपालिका, बडैयाताल गाउँपालिका, गुलरिया, तारा ताल, भुरिगाउँ, चिसापानी, घोडाघोडी, बौनिया, अत्तरिया क्षेत्रको सडक सेवा सम्पन्न गरि उद्धार टोलीका यात्रीहरु धनगढी पुगेर शिवपुरीधाममा देउसीभैलो खेल्ने कार्यक्रम रहेको छ । साथै शुक्रबार पनि कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रको सडकसेवा गरि बेलुका ६ः३० बजे धनगढीस्थित पार्कमोडमा देउसीभैलो खेलिनेछ ।
देउसीभैलो कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यू, वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यूसहित ४७ जना सहभागी उद्धार टोलीका यात्रीसँगै धनगढीका स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागीता रहनेछ ।