१३ कार्तिक, सुर्खेत । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत लुम्बिनी प्रदेशबाट ४८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा शुभारम्भ भएको हो ।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट सडकमानवहरुको उद्धार भएको हो । विशेषतः उद्धार यात्राअन्तर्गत लुम्बिनी प्रदेशका पाँच जिल्लाका विभिन्न स्थानहरुबाट सहयोगापेक्षी मानवहरुको उद्धार गरिएको हो । रुपन्देहीबाट २० जना, कपिलवस्तुबाट ४, नवलपरासी पश्चिमबाट ४, दाङबाट ८, बाँकेबाट ५, पाल्पाको तिनाउ गाउँपालिका–५ बाट १ जना, तानसेन नगरपालिका–५ बाट ६ जना गरि ४८ जनाको उद्धार गरिएको छ ।
जसमध्ये लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीमा सबैभन्दा बढी २० जना र सबैभन्दा कम नवलपरासी पश्चिममा ४ जनाको उद्धार भएको हो ।
प्रदेशका विभिन्न जिल्लाबाट उद्धार हुनुभएका सहयोगापेक्षी मानवहरुलाई तिलोत्तमा, तुलसीपुर, सुर्खेत सेवाकेन्द्रहरुमा संरक्षणको लागि राखिएको छ
कार्त्तिक ८ गतेदेखि १३ गतेसम्म ६ दिन लुम्बिनी प्रदेशमा सञ्चालन भएको यात्रामा भेटिनुभएका सडक मानवहरुको अवस्था निकै दयनीय रहेको देखिन्छ । अधिकांशलाई मानसिक समस्या रहेको छ भने कोही पारिवारिक विचलनबाट घर त्यागेर खुला सडकमा आउनु परेको दुःखद् घटनाहरु छन् ।
उद्धार टोलीले मंगलबार लुम्बिनी प्रदेशको सेवालाई बिट मार्दै बुधबार कर्णाली प्रदेशअन्तर्गत सुर्खेतका विभिन्न ठाउँहरुमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवाामा खटिने कार्यक्रम रहेको छ ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्राको मंगलबार १६ औँ दिनको अवधिमा १३९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ । जसमा १०६ पुरुष र ३३ जना महिलाको सङ्ख्या मध्ये २ बालिका र १ बालक पनि रहेका छन् ।
त्यस्तै कोसी प्रदेशबाट ३५ पुरुष र ९ महिला गरी ४४ जनाको उद्धार गरिएको हो भने मधेश प्रदेशबाट ३० पुरुष र १० महिला गरि ४० जनाको उद्धार भएको हो । लुम्बिनी प्रदेशबाट ३९ पुरुष र ९ महिला गरि ४८ जनाको उद्धार गरिएको छ ।
उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यूसहित ४७ जना यात्रीहरू रहनुभएको छ ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।
राष्ट्रिय उद्धार यात्रा असोज २८ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा समापन हुने कार्यक्रम रहेको छ । सदाको वर्षजस्तै यो वर्षको मेची–महाकाली उद्धार यात्राले पनि ८२ सालभित्र सडकमानवमुक्त देश निर्माण गर्न आश्रमले गरेको संकल्पलाई टेवा पुग्ने देखिन्छ । साथै मानवसेवाको क्षेत्रमा अग्रसर संघसंस्था तथा सरकार, सरोकारवाला निकायलाई थप जिम्मेवार बनाउन मद्दत गर्ने विश्वास आश्रमले गरेको छ ।