१२ कार्त्तिक, तुलसीपुर । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत दाङ जिल्लामा ८ जनाको उद्धार भएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा तय भएको हो ।
राष्ट्रिय उद्धार यात्राका क्रममा आइतबार लमही नगरपालिका–५ बाट ३ जना, राप्ती गाउँपालिकाबाट १ जना र सोमबार घोराही नगरपालिका–८ बाट ४ जना गरि ८ जनाको उद्धार गरिएको हो ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा दाङको तुलसीपुरसम्म आइपुग्दा पुग्दा १३४ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ ।
मेची– महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत उद्धार गरिएका १०३ जना पुरुष र ३१ जना महिलाको सङ्ख्या मध्ये २ बालिका र १ जना बालक पनि रहेका छन् ।
दाङका विभिन्न स्थानबाट उद्धार हुनुभएका ८ जनालाई मानवसेवा आश्रम तुलसीपुर सेवाकेन्द्रमा गृहप्रवेश गराएको छ । उद्धार टोली सोमबार दाङको घोराही र तुलसीपुर क्षेत्रमा सडकसेवा सम्पन्न गरि यात्रीहरु सोमबार बेलुका नै नेपालगञ्ज आइपुगेका छन् ।
साथै मंगलबार कोहलपुर र नेपालगञ्ज क्षेत्रका सार्वजनिक तथा सडकपेटीमा बेवारिसे अवस्थामा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार गरिने कार्यक्रम रहेको छ ।
उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यूसहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।