८ कार्तिक, बुटवल । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको एघारौँ दिन बिहीबार लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीबाट ९ जनाको उद्धार भएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार सिद्धार्थनगर नगरपालिका–१३ बाट २ जना, ३ बाट १ जना, १ बाट १ जना, मायादेवी गाउँपालिका–६ बाट २ जना, लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बाट १ जना, बुटवल उपमहानगरपालिका–२ फूलबारीबाट २ जना गरि ९ जना सडक मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ ।
उद्धार हुनुभएका ८ जना पुरुष र १ जना महिलालाई आजै मानवसेवा आश्रम रुपन्देहीको तिलोत्तमा सेवाकेन्द्रमा गृह प्रवेश गराईएको छ । उद्धार टोली बिहीबार रुपन्देहीको तिलोत्तमा, ओमसतिया, सिद्धार्थनगर, मायादेवी, लुम्बिनी साँस्कृतिक, गैडहवा, सैनामैना, बुटवल लगायत क्षेत्रहरुमा उद्धार सेवामा खटिएको हो । शुक्रबार भने टोली बुटवल, देवदह, लगायत नवलपरासी जिल्लाका विभिन्न क्षेत्रहरुमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका संस्थापक÷ केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूसहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ ।
उद्धार यात्राको ११ औँ दिनसम्मको अवधिमा १०७ जना सहयोगापेक्षीहरुको उद्धार गरिएको छ । २८ महिला र ७९ जना पुरुषको सङ्ख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् ।