५ कार्त्तिक, हेटौँडा । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा सोमबार मधेश प्रदेशका ३ जिल्लाका विभिन्न स्थानहरुबाट १० जनाको उद्धार भएको हो । जसमध्ये सर्लाहीको हरिवन नगरपालिका–११ बाट १ जना, बागमती नगरपालिकाबाट–१२ बाट २ जना रौतहटको चन्द्रपुर नगरपालिका–२ र ३ वडाबाट ४ जना र पर्साको वीरगञ्ज महानगरपालिकाबाट ३ जना गरि १० जनाको उद्धार गरिएको हो ।
उद्धार हुनुभएका ७ जनालाई मानवसेवा आश्रम वीरगञ्ज सेवाकेन्द्रमा र ३ जनालाई मूख्य कार्यालय हेटौँडा सेवाकेन्द्रमा आजै स्थान्तरणका लागि लगिएको छ ।
उद्धार टोली सोमबार सर्लाही, रौतहट, बारा, पर्सा जिल्लाको विभिन्न ठाउँहरुमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवाामा खटिएको हो ।
असोज २८ गतेबाट पूर्वको मेचीनगरनगर नगरपालिकाबाट सुरु भएको यात्राको आठौँ दिन कार्तिक ५ गतेसम्मको अवधिमा पर्साको वीरगञ्जसम्म आइपुग्दा मधेश प्रदेशबाट ३० पुरुष र १० महिला गरी ४० जनाको उद्धार गरिएको हो ।
मधेश प्रदेशअन्तर्गत सबैभन्दा बढी सप्तरी जिल्लाबाट एकैदिन १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो।
त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा– ७ बाट ४ जना, वडा– ६ बाट ३ जना र वडा– १ बाट १ जना, सप्तकोशी नगरपालिका–१ बाट ५ गरि १३ जनाको उद्धार भएको हो ।
त्यस्तै सिरहाको लहान नगरपालिका वडा– १ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि सिरहाबाट ८ जना र धनुषा जिल्लाको जनकपुरधाम उपमहानगर पालिकाबाटबाट ४ जनाको उद्धार भएको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरबाट ३ जना, मिथिला नगरपालिका–६ बाट १ जना र महोत्तरीको बर्दिबास नगरपालिका–१ बाट १ जनाको उद्धार गरिएको हो ।
मधेश प्रदेशअन्तर्गत ४० जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ । साथै यात्राको आठौँ दिनमा आइपुग्दासम्म कोशी र मधेश प्रदेशमा ६४ जना पुरुष र २० जना महिला गरि ८४ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।
उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका अध्यक्ष रामजी
अधिकारीज्यूसहित ४७ जना यात्रीहरू रहनुभएको छ ।
यो पटकको मेची-महाकाली राष्ट्रिय उद्धार यात्राले मानवसेवा आश्रमले ८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई सघाउने आश्रमको विश्वास छ ।
साथै सोमबार मधेश प्रदेशको उद्धार सेवालाई समापन गर्दै मङ्गलबार बागमती प्रदेशका विभिन्न जिल्लाका सडकपेटी तथा सार्वजनिक स्थलमा रहनुभएका मानवहरुको उद्धार गर्नको लागि उद्धार टोली सोमबार बेलुका बागमती प्रदेशको हेटौँडा आइ पुगेको छ ।