४ कार्त्तिक, बर्दिबास । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे साताैँ दिन शनिबार ६ जना सडकआश्रित मानवहरुकाे उद्धार गरिएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आइतबार धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-४ मुरली चाैकबाट १ जना, क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरबाट ३ जना, मिथिला नगरपालिका-६ बाट १ जना र महाेत्तरीकाे बर्दिबास नगरपालिका-१ बाट १ जना गरि ६ उद्धार भएकाे छ ।
झापाको मेचीनगरदेखि सुरु भएकाे उद्धार यात्रा आइतबार महाेत्तरीकाे बर्दिबाससम्म आइपुग्दा ७४ जना सडकआश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएकाे छ ।
आइतबार उद्धार हुनुभएका ३ जना पुरुष र ३ जना महिलालाई आजै मानवसेवा आश्रम जनकपुरधाम सेवाकेन्द्रमा संरक्षणका लागि लगिएकाे छ । उद्धार टाेली साेमबार दिनभरि सर्लाही र बारा जिल्लाका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बाँच्न बाध्य हुनु भएकाहरुकाे उद्धार तथा सेवामा रहनेछ ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूसहित ४७ जना यात्रीहरूकाे सहभागिता रहेकाे छ ।