भाद्र १४, काठमाडाैँ । मानवसेवा आश्रमको १२ औँ वार्षिकोत्सवको अवसरमा बिहिवार देशैभरका ७ वटा प्रदेशका १९ वटा जिल्लाका २४ वटै शाखाहरुमा रक्तदान साथै दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा काठमाडौँमा २८ जनाले रक्तदान गर्नुभएको छ । यसैगरि भक्तपुरमा २१ जना ललितपुरमा ३० जना, लमजुङमा ३०, सर्लाहीमा ३२, हेटौँडामा २७, गोरखामा २५ जनाले रक्तदान गर्नुभएको छ । यसैगरि विरगञ्जमा २० जना, जनकपुरमा २६ जना, धनगढीमा १६ जना र वीराटनगरमा ३० जनाले रक्तदान गर्नुभएको छ । यस्तै झापामा ३२ जना, कास्कीमा पनि ३२ जना, बाग्लुङमा १६ जना, रुपन्देहीमा २३ जना, नेपालगञ्जमा ३३ जना, दाङमा १४ जना र सुर्खेतमा ११ जनाले रक्तदान गर्नुभएको छ ।
संस्थाको १२ औँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रमका संस्थापक केन्दीय अध्यक्ष रामजी अधिकारीज्यूले देश विदेशमा रहेर आश्रमलाई तन, मन, र धनको त्रिवेणीबाट साथ सहयोग र प्रेरणा प्रदान गर्दै आउनुहुनेु सम्पूर्ण मानवताप्रेमी मनहरु, अभिभावकज्यूहरु, समर्पित अभियान्ताहरु, साधकसाधिकाहरु, स्वयमसेवकहरु, सरकारी तथा गैरसरकारी एवम् आध्यात्मिक संघसंस्थाहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
हेटौँडाबाट पुरानो थालभाडा, कचौरा जम्मा गरी मठ्ठीदान संकलन गरेर एउटा घरको दुईवटा फ्ल्याट भाडामा लिई ५ जना सहयोगापेक्षी मानवहरु लिई २०६९ साल भाद्र १३ गते सुरुवात भएको मानसेवा आश्रमले १२ औँ वार्षिकोत्सव मनाएको हो । मानवसेवा आश्रमले देशव्यापी रुपमा सहयोगापेक्षी बेसाहरा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
मानवसेवा आश्रम सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षा लगायतका चाहाना लिएर सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा एवं कार्यान्वयनका पक्षलाई अगाडि लिएर बढेको गैरनाफामूलक सामाजिक संस्था हो ।
स्थापना समयदेखि हालसम्म यस संस्थाले १०,२३६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरी ४,०३७ जनाको सुखद् पारिवारिक पुनर्मिलन गरिसकेको छ भने ८४९ जनाको सामुदायिक पुर्नस्थापना भएको छ । उद्धार गरिएका मध्ये उपचारात्मक सेवा पाई स्वास्थ्य लाभ गरेर बाहिरिनेको संख्या ३,४६२ रहेको र मानसिक अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा १७२० जना मानवहरु संस्थाको २४ वटै शाखाहरुमा आश्रित भई स्वास्थ्य लाभ लिइरहनुभएको छ ।