काठमाडौँ – आमा जननी । आमा धरती । आमा सर्वेसर्वा । त्यसैले आमाको महिमा संसारमा अपरम्पार छ । आमाको सम्मानमा पौराणिकालदेखि नै मनाइने पर्व हो मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्व । आइतबार मानवसेवा आश्रमका सबै सेवाकेन्द्रहरुमा मातातिर्थ औँसी पर्व मनाइएको छ । सहयोगापेक्षी सडक आश्रित आमाहरूका साथमा आश्रममा छोराछोरीहरूले मातातिर्थ औँसी पर्व मनाएका हुन् । पछिल्लो समय आमासँगको सद्भाव भन्दा औपचारिकता पुरा गर्ने मेसो जस्तो मात्र बन्न थालेको अवस्थामा मानवता प्रवर्द्धन गर्दै आएको मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित आमाहरूका साथमा मातातिर्थ पर्व मनाएका हुन् ।
-1745748463.jpg)
मातातिर्थ औँसीका दिन निर्दयी छोराछोरी सम्झेर आमाहरू भक्कानिन्छन् । छटपटिन्छन् मनभित्र उकुसमुकुस बोकी । तर पोख्नु पो कहाँ रु तर पनि पोखिन्छ कहिले आँसु बनेर, कहिले पीडा बनेर । कहिले शब्द बनेर ।
आमा बुबालाई राम्रोसँग हेरचाह गर्ने सन्तानहरू हुँदै नभएका भने होइनन् । जति छन् उहाँहरू सम्मानयोग्य छन् । तर यही धरतीमा, यही देशमा त्यस्ता सन्तानहरू पनि छन् जसका आमाबुबा अहिले सडक पेटीमा बेवारिसे अवस्थामा भेटिने गर्छन् । सडकबाटै उद्धार गरेर मानवसेवा आश्रमले रानीवन सेवा केन्द्रमा आश्रयमा राखिएकी ४० वर्षीय सरिता दाहाल आँखाभरि आँसु पार्दै भन्छिन् ‘सानैमा बाल विवाह भयो । परिवार र सन्तानले बेवास्ता गरेपछि सडकमा बास भयो । अहिले आश्रमका छोराछोरीको माया पाएको छु ।’ उनी आइतबार आश्रमकै छोराछोरीका साथमा मातातिर्थ पर्व मनाउँदै थिइन् ।
त्यस्तै रानीवन सेवा केन्द्रमा आश्रित अर्की ५० वर्षिया निर्मला मगर पनि परिवार र समाजको अपहेलनाले सडकमा पुगेको बताउँछिन् । मन्थली घर बताउने उनी हाल रानीवन आश्रमको संरक्षणमा छन् । सानैमा आमाबुवा बितेर गाउँलेले हुर्काएकी उनलाई गाउँलेको सहमतिमा मागी विवाह समेत भएको थियो । तर वैवाहिक जीवन सुखमय हुन सकेन, आफ्नो कोखबाट सन्तान नजन्मिएपछि श्रीमानको हेला गरेर घरबाट निकालिदिए । अनि उनी सडकमा पुगिन् ।
मानसिक रूपमा विक्षिप्त भई खुला सडकमा बास बस्न बाध्य भएकी सरिता जस्तै थुप्रै आमाहरू मानवसेवा आश्रमको विभिन्न सेवा केन्द्रमा आश्रित रहेको मानवसेवा आश्रम रानीवन सेवा केन्द्रका संयोजक सुमिरा लामा बताउँछिन् । सरिता र निर्मला त प्रतिनिधि आमाहरुमात्र हुन् । सरिता र निर्मला जस्तै ७ सय ६५ महिला मानवसेवा आश्रममा आश्रित छन् । आश्रम पुरुष र बाल बालिका सहित हाल १७६५ आश्रित रहेको मानवसेवा आश्रमले जनाएको छ । यसरी सडकमा बेवारिसे अवस्थामा भेटिएका र मानवसेवा आश्रमले उद्धार गरेर आश्रममा आश्रय दिइएकामा आइतबार सम्म १७६५ आश्रितहरू आश्रममा आश्रित छन् । ती मध्ये ७६५ महिला आश्रित रहेको आश्रमले जनाएको छ ।
-1745748465.jpg)
आश्रमले सडकआश्रित आमा बुबाहरूलाई विगत १२ वर्षदेखि उद्धार गरी खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको बन्दोबस्त गर्दै आएको छ । हालसम्म आश्रमले ११ हजार ३ सय ८६ जनाको उद्धार गरिसकेको छ । ती मध्ये महिला ४ हजार ३ सय ३६ र पुरुष ७ हजार ४७ जना उद्धार भएका छन् ।
आश्रमले आइतबारसम्म ४ हजार ६ सय १७ जनाको सुखद पारिवारिक पुनर्मिलन गराइसकेको छ भने ९ सय ४० आश्रितको सामुदायिक पुनर्स्थापना गरिसकेको छ भने १५ सय ७ जनाको निधन भएको आश्रमको तथ्याङ्कमा उल्लेख छ ।