सर्लाही । मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रकाे भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएकाे महायज्ञबाट २ कराेड ३२ लाख १४ हजार ३ सय ३५ रुपैयाँ संकलन भएको छ ।
आश्रमले बुधबार पत्रकार सम्मेलनमार्फत महायज्ञकाे आय व्यय विवरण सार्वजनिक गरेकाे हाे । महायज्ञमा जिन्सी, नगद र प्रतिबद्धता रकमसहित कुल २ कराेड ३२ लाख १४ हजार ३ सय ३५ रुपैयाँ संकलन भएको छ । महायज्ञमा नगद, चेक र क्युआरमार्फत भने ७३ लाख ३० हजार ४ सय ३८ रुपैयाँ संकलन भएको हाे ।

त्यस्तै महायज्ञमा १ करोड ५७ लाख २३ हजार ४ सय १२ रुपैयाँ सरकारी, संस्थागत र व्यक्तिगत रूपमा प्रतिबद्धता बापत प्राप्त भएको छ जसमध्ये सरकारी निकायअन्तर्गत स्थानीय वडा र पालिकाबाट १ करोड २९ लाख ४१ हजार ९ सय रुपैयाँ र संस्थागत रूपमा विभिन्न संघ संस्थाहरूबाट १९ लाख ६५ हजार ९० रूपैयाँकाे प्रतिबद्धता प्राप्त भएकाे हाे ।

महायज्ञमा दान पेटिकाबाट भने १ लाख ५८ हजार ९ सय ८५ रूपैयाँ संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।
साथै महायज्ञमा हरिवन नगरपालिकाका ११ वटा वडा कार्यालयहरूले आश्रमकाे एक कोठा निर्माण गर्न प्रतिद्धता व्यक्त गरेका छन् ।
हरिवन नगरपालिका मधेश प्रदेशको पहिलो सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका घाेषणा भएकाे छ भने सडक मानवमुक्त हरिवन पालिका घाेषणा भएसँगै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल‘मिसन २०८२’ घोषणा गर्नका लागि आधार तय गर्न मद्दत पुगेको छ।
महायज्ञमा माननीय पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य हरि उप्रेतीले आगामी आर्थिक वर्षकाे नेपाल सरकारकाे वार्षिक बजेट विनियाेजन हुने क्रममा आफ्नाे पहलबाट आश्रम व्यवस्थापनकाे लागि ५० लाख रूपैयाँ विनियाेजन गराउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।

मानवसेवा आश्रमले सर्लाही सेवाकेन्द्रकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनकाे सुर्तिविकास खेल मैदानमा गत फागुन २२ गतेदखि २९ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ सञ्चालन गरेकाे थियाे ।