हेटौँडा - मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौँडाको क्षमता अभिवृद्धि एवं अक्षयकोष श्री वृद्धिको अभीष्ट राखी आर्थिक-भावनात्मक सहयोग जुटाउन र मानवता प्रवर्द्धनमा टेवा पुर्याउन यही चैत्र १७ गते देखि २४ गते सम्म हुने श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी आश्रमको क्षमता अभिवृद्धि गर्नु पर्ने आवश्यकता र आश्रमको व्यवस्थापन सेवालाई सरल र सहज बनाउन महायज्ञले सहयोग पुग्ने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले पत्रकारहरूलाई बताउनु भयो ।

१) मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौँडाको १० करोडको अक्षयकोष निर्माण गर्न ।
२) मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौँडाको क्षमता विकासको लागि विभिन्न संघ संस्था सँग सहकार्य गरेर किचन, डाइनिङ हल, कोल्ड स्टोर सहितको भवन पुनः निर्माण गर्न।
३) सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बागमती प्रदेश निर्माण, घोषणा र घोषणा पश्चातको पूर्ण कार्यान्वयनको आधार तयार गर्न ।
४) २०८२ साल भित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको संकल्पलाई पुरा गर्न यसको आधार तय गर्दै आम सर्वसाधारणमा मानवता प्रवर्द्धनमा टेवा पुर्याउन ।
महायज्ञमा हुने कार्यक्रमहरूको विवरण यस प्रकार रहेका छन् ।
१) चैत्र १७ गते बिहान ८:०० बजे राप्तितट गोरक्षश्वर धामबाट बाजागाजा, सांस्कृतिक झाँकी, शंखनाद, भजन कीर्तन सहित विशाल शोभा कलश यात्राबाट नगर परिक्रमा भई रोयल प्यालेसमा १०:३० बजे महायज्ञको समुद्घाटन ।
२) चैत्र १८ गते देखि २४ गते सम्म प्रत्येक दिन बिहान ५:०० बजे देखि ७:०० बजेसम्म पंतजली योग समिति, जीवन विज्ञान, द आर्ट अफ लिभिङ, मोक्ष पथ फाउन्डेसन लगायतका अन्य संघ संस्थाको सहकार्यमा वृहत् योग शिविरको आयोजना ।
३) ७:३० बजेदेखि १०:०० बजेसम्म मकवानपुर जिल्लाका क्षेत्रमा रहेका सबै सामुदायिक एवं संस्थागत विद्यालयका कक्षा १०, ११ र १२ सँगै कलेजका युवा विद्यार्थीहरूमाझ मनको व्यवस्थापन (MIND MANAGEMENT), सकारात्मक सोच, मानवता प्रवर्द्धन एवम् युवाहरू माझ अन्तरक्रिया कार्यक्रम ।
४) महायज्ञ अवधिभर स्वास्थ्य शिविरको आयोजना हुनेछ । जसमा स्वास्थ्य परीक्षणका कार्यक्रमहरू सबै नि:शुल्क हुनेछन् ।
५) प्रत्येक दिन बिहान ११:०० देखि ४:०० बजेसम्म भागवत भास्कर श्री कमलनयन गौतमबाट सङ्गीतमय श्रीमद् भागवत कथा प्रवचन एवं दाता सम्मानको कार्यक्रम रहने छ ।
६) कथा प्रवचन सँगै ख्यातिप्राप्त कलाकारहरूबाट गीत, सङ्गीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू प्रस्तुत हुने छन् भने पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप, पाठ, परायण आदि धार्मिक अनुष्ठानका सेवाहरू पनि सँगैसँगै अगाडी बढिरहने छन् ।
७) प्रत्येक दिन साँझ ६:०० बजेदेखि ७:३० सम्म स्थानीय कलाकाहरुद्वारा भजन कीर्तन र ७:३० देखि ९ बजेसम्म राष्ट्रिय कलाकारहरूबाट भजनकिर्तनको कार्यक्रम हुनेछ ।
८) महायज्ञको समयमा समाजमा आफ्नो कर्मको माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउनु भएका विभिन्न विधा, क्षेत्रका व्यक्तिहरू वरिष्ठ कलाकारहरू र विभिन्न धार्मिक एवं आध्यात्मिक क्षेत्रबाट गुरुहरूको उपस्थिति रहने छ ।
प्रेरणादायी महत्त्वपूर्ण जानकारी
मानवसेवा आश्रमलाई धेरैले प्रश्न गरी रहनु भएको हुन्छ, महायज्ञमा कथा वाचकलाई संकलन भएको दानको कति प्रतिशत दिनु पर्छ ? तर आज सम्म मानवसेवा आश्रमले आयोजना गरेको ९ वटा महायज्ञको प्रमुख कथा वाचकको भूमिकामा रही सक्नु भएका गुरु भागवत भास्कर श्री कमलनयन गौतम ज्यलाई आयोजकबाट स-प्रेम प्रदान गरिएको दक्षिणा आश्रमको सेवामा फर्काउनु भएको छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौँडा, चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ र यसै आ.व. मा सुर्खेत पछि बुटवल, धनगढी, सर्लाही सहित फेरी हेटौँडामा हुन लागेको यो महायज्ञ १० औँ महायज्ञ हो ।
मानवसेवा आश्रमले मुलुकभर २० जिल्लाका २६ सेवा केन्द्रबाट सहयोगापेक्षी सडक आश्रित मानवको सेवा गर्दै आइरहेको छ ।